काठमाण्डौ । आइतबार बजार खुलेको दुई घण्टाभित्र चारवटा बिमा कम्पनीसहित पाँच कम्पनीमा पोजिटिभ सर्किट लागेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल, एशियन लाइफ इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि पोजिटिभ सर्किट लगाइएको हो ।

यी चार बिमा कम्पनीसहित सानिमा माई हाइड्रोपावर कम्पनीको मूल्यमा समेत पोजिटिभ सर्किट लागेको छ ।

गुराँस लाइफ र सूर्या लाइफ इन्स्योेरेन्सको मूल्य समेत ९ प्रतिशत भन्दा बढीले वृद्धि भइस्केको छ ।

यो समाचार तयार पार्दासम्म जीवन बिमा समूहको सूचक ९.७५ प्रतिशतले वृद्धि भइसकेको छ । कुल ६१६.८३ अंकले बढेर जीवन बिमा समूहको सूचक ६९४६.१७ को विन्दूमा पुगेको छ ।

पहिलो २ घण्टामा निर्जीवन बिमा समूहको सूचक पनि ७ प्रतिशतको हाराहारीमा बढिसकेको छ ।

जलविद्युत समूह ३.३६ प्रतिशतले बढिसकेको छ भने माइक्रोफाइनान्स समूहमा पनि ३ प्रतिशतको वृद्धि देखिएको छ ।

पहिलो २ घण्टामा नेप्से परिसूचक २५.४३ अंके बढेर १३१७.५५ को विन्दूमा पुगेको छ ।

बैंकिंग समूहतर्फ झिनो मात्र वृद्धि छ । यसको अर्थ लगानीकर्ता बैंक छाडेर बिमा, माइक्रोफाइनान्सतर्फ सिफ्ट भएका छन् भन्ने हो ।

दुईघण्टाभित्रमा ७३ करोड माथिको कारोबार भइसकेको छ । यही गतिले बजार अघि बढ्ने हो भने आज सहजै डेढअर्बको सेयर कारोबार हुने देखिएको छ ।