काठमाण्डौ । लगानीकर्ताहरु जलविद्युत कम्पनीको सेयरतर्फ केन्द्रीत हुन थालेका छन् । अपर तामाकोशीको सेयर मूल्यमा विगत २ दिनदेखि पोजिटिभ सर्किट लागेसँगै लगानीकर्ताहरुको सेन्टिमेन्ट जलविद्युत कम्पनीतर्फ मोडिएको हो ।
यही सेन्टिमेन्टका कारण बुधबार ६ वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा भारी बढोत्तरी भई लगानीकर्ताले कुस्त कमाए ।
बजारमा लगानीकर्ताहरुले लगानी क्षेत्रलाई परिवर्तन गर्दै अगाडि बढ्नु बलियो बुल रनको संकेतको रुपमा विश्लेषकहरु बुझ्दछन् । केही समयअघि बैंकिङ समूहमा यस्तै बहार आएको थियो । त्यसको केही दिनमा लगानीकर्ताले समूह परिवर्तन गरी जीवन बिमामा आफूलाई केन्द्रीत गरेका थिए । लगत्तै निर्जीवन बिमामा समेत केन्द्रीत गरेका उनीहरुले त्यसको पनि केही दिनपछि माइक्रोफाइनान्समा केन्द्रीत गरेका थिए ।
लगानीकर्ताहरुले आफ्नो लगानीमा विविधिता खोज्दै यसरी फरक फरक समूहको सेयर खरिदारी बढाउनुले समग्र बजार चलायमान भएको रुपमा बुझ्न सकिने विश्लेषकहरु बताउँछन् ।
यो दिन जलविद्युत समूहको सूचकसँगै होटल समूहको सूचकमा पनि निकै राम्रो बढोत्तरी भयो । समग्र नेप्से परिसूचक ७.४९ अंकले बढेर १३१९.६३ को विन्दूमा पुगेको यो दिन कारोबार रकम पनि अघिल्लो दिनमा बढेर ९६ करोड ६६ लाख माथि पुगेको छ ।
एकातिर लगानीकर्ताहरु विविध क्षेत्रमा लगानी गर्दै अगाडि बढिरहेका छन् भने अर्कोतर्फ बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढिरहेको छ । यसले आउँदा दिन बजार अझै बलियो बन्नसक्ने संकेत गर्दछ ।
यो दिन नेप्सेमा सूचिकृत राम्रा र ठूला कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.३५ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६९ अंकको बढोत्तरी देखियो ।
जलविद्युत समूह ६८.६३ अंक(५.३८ प्रतिशत)ले बढेको यो दिन होटल समूहमा ५२.२३ अंक, बैंकिङ समूहमा २.५ढ अंक, विकास बैंक समूहमा ६.०३ अंक, बित्त समूहमा ४.०३ अंक, निर्जीवन बिमा समूहमा १०.९४अंक, जीवन बिमा समूहमा ४३.५९ अंक, माइक्रोफाइनान्स समूहमा ७.२१ अंक र अन्य समूहमा ८.१३ अंकको बढोत्तरी भयो ।
यो दिन उत्पादन तथा प्रशोधन समूह ८४.५३ अंकले घट्यो भने म्युचुअल फण्ड समूहमा ०.२ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका ३४ लाख ३६ हजार ९३७ कित्ता सेयर ९६ करोड ६६ लाख ९३ हजार २४९ रुपैयाँमा किनबेच भयो ।
यो दिन सबैभन्दा बढी नेपाल बैंकले ६ करोड ९६ लाख बढीको कारोबार गर्यो । प्राइम कमर्सियल बैंकले ६ करोड ३७ लाख बढीको कारोबार गरेको यो दिन शिवम सिमेन्टले ६ करोड २१ लाख, सानिमा माई हाइड्रोले ५ करोड ५९ लाख, अपर तामाकोशीले ५ करोड ५ लाख, बुटवल पावर कम्पनीले ४ करोड ४३ लाख, कृषि विकास बैंकले ३ करोड ९१ लाख, एचआइडिसिएलले ३ करोड ७० लाख, ओरिएन्टल होटल लिमीटेडले ३ करोड ३७ लाख र अपी पावर कम्पनीले २ करोड ९४ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेड, अपर तामाकोशीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
अरुण काबेली पावर लिमीटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेड, हिमालयन पावर पार्टनर लिमीटेड, अपी पावर कम्पनी लिमीटेड र मल्टी पर्पोज फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतकै हाराहारीमा बढोत्तरी भयो ।
सिटी एक्सप्रेस फाइनान्स लिमीेटेडको सेयर मूल्य ९.३८ प्रतिशतले वृद्धि भयो ।
यो दिन बजारमा घलेम्दी हाइड्रो लिमीटेडले सबैभन्दा बढी ९.४८ प्रतिशतले मूल्य गुमायो । यो कम्पनीको मूल्य घटेर आइपीओ मूल्य नजिक १०५ रुपैयाँमा सीमित बन्न पुगेको छ ।
हिमालयन डिस्टीलरीका लगानीकर्ताले ६.७० प्रतिशतले सम्पत्ति गुमाएका यो दिन शिवम सिमेन्टको सेयर मूल्य ६ प्रतिशतको हाराहारीले घटेर प्रतिकित्ता ५५० रुपैयाँमा सीमित बन्न पुगेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19