-भक्तराज रसाइली 
काठमाण्डौ । नेपालको धितोपत्र बजारमा विभिन्न उमेर, तहतप्काका व्यक्तिहरुको आकर्षण रहेको पाइन्छ । यही बजारमा जागिर गर्न छाडेर सेयर बजारमा लागी सरकारी अधिकृत सोसरह आम्दानी गरिरहेका युवाहरुको पनि जमात छ । 

कम पूँजी भएका, तर कम्पनीको मालिक बन्न चाहनेहरुका लागि स्टक मार्केट एउटा गतिलो प्लेटफर्मका रूपमा चिनिन्छ । यही जमातमा भविष्यमा नेप्सेमा सूचीकृत कम्पनीको संचालक बन्ने सपना बुन्दै सेयर बजारमा लगानी गर्दै आइरहेका एक युवा हुन् सुमन श्रेष्ठ । २७ वर्षीय श्रेष्ठको जन्मघर रामेछाप जिल्ला हो भने हाल उनी धोबीचौरका बासिन्दा हुन् ।

विगत ७ वर्षदेखि सेयर बजारमा सक्रियता जनाइरहेका उनले पार्टटाइम कामका रूपमा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्तामा समेत हात हालेका छन् । 

डेढ वर्षअघि  ११ जनाको लगानी ग्रूप बनाएर ३ लाखको फण्ड संचालन गर्दै आएका उनले सानोतिनो लगानीको सुरुवात गर्नु नै ठूलो कुरो हो । हेर्दा फण्ड सानो होला, तर सङगठित भई सेयरमा लगानी समेत गर्दै आएका श्रेष्ठको यो सुरुवाती पाइला उदाहरणीय छ ।

डीडीसीमा कार्यरत आफ्ना पिता ठाकुरप्रसाद श्रेष्ठले उनको हात समाउँदै आईपीओ भर्न २०६७ सालतिर लगेको उनी सम्झदै बैंक खाता खोलेर कृषि विकास बैंकको सेयरमा ५ हजारबाट लगानी गर्दा ३० कित्ता हात पारेको सम्झिए ।

आफ्ना पिताले आइपीओमा लगानी गरेको देखेर  र नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालबाट प्रेरित भई लगानी गर्न थालेको उनको भनाई छ ।

‘हामी म्यानेजमेन्टको विद्यार्थीलाई सेयरका बारे सैद्धान्तिक ज्ञान त छ तर व्यवाहारिक ज्ञान भने छैन ।’ उनले भने–‘विद्यार्थीले पनि बचत गर्दै भविष्य उज्वल बनाउन सक्दछन् ।’

दोस्रो बजारमा चिलिमेको सेयर ३० कित्ता ६ सय २० का दरले किनेर पाइला टेकेपछि उनले बाबा र दाजुको पैसा थोरै थोरै लगानी गर्दै आए । चिलिमे ६ सय २०, नेपाल लाइफ २२ सय २० छिमेकी लघुवित्त १ हजारमा किनेर  क्रमशः १२ सय, ४ हजार ६ सय र १६ सयसम्म बेच्दै नाफा  कुम्ल्याएको उनले सुनाए । 

सेयर बजारमा आएर एकैचोटि आम्दानी गर्न भने नसकिने, तर यसका लागि आफूलाई समेत बुझ्न ६ महिना लागेको उनले बताए । ६ महिनासम्म ब्रोकर अफिस जाँदा कुनै कारोबारमा हात नहाली सिनियर लगानीकर्ता र त्यहाँ आएका अन्य लगानीकर्ताहरुले सिकाएको उनको भोगाइ छ । 

एभरेस्ट बैक र नेपाल बङ्गलादेश बैंकको प्रतिकित्ता ३२ सय र ९ सयमा किनेर अहिले ६ सय अनि २ सय हाराहारीमा सेयरमूल्य रहेको उल्लेख गर्दै धेरै कमाएकाले सस्तो हुँदा समेत अहिले तनाव नलिने गरेको उनले उज्यालो मुद्रामा बताए । 

सेयरकै कमाइले गाउँमा ४० रोपनी जग्गा समेत जोड्न सकेका उनले यही बसीबसी महिनाको ३०-४० हजार कमाउन सकिने दाबी समेत गरे । अहिले पब्लिक युथ क्याम्पसमा एमबीएस पढ्दै गरेका उनले १५ जना फलोअर समेत भएको सुनाए । 

विश्वमा सेयरमा लगानी गर्ने मानिसहरू २ प्रतिशत मात्रै भएका जिकिर गर्दै प्राथमिक बजारमा सेयर खरिद सहज भएकोले अरू नयाँ लगानीकर्तालाई समेत प्राथमिक बजार हुँदै दोश्रो बजारमा लगानी गर्न सुझाए। 

नेपाल सरकारले पूँजी बजार र वित्तीय साक्षरताबारे धेरै कार्यक्रम गर्नुपर्ने जोड अनलाइन मिडियाहरुमा आएका सूचना तथा जानकारीबारे साक्षर हुनुपर्ने उनको धारणा छ । 

विदेशमा बस्ने दाजुभाइले पनि सेयरमा लगानी गरेर मनग्ये कमाएका, जस्तो १ लाख लगानी गरेर ५ वर्षपछि फर्कदा १० लाख जतिको सम्पत्ति भएको उदाहरण उल्लेख गर्दै फजूल खर्च गर्नुका साटो सेयरमै लगानी गर्नुपर्ने उनको सुझाव छ । 

सेयर बजारमा लागेपछि नाफाघाटा दुवैमा आनन्दित र खुशी हुनुपर्ने उनको ठम्याई छ । विश्वविद्यालयमा समेत सेयर बजारबारे व्यवसायिक र व्यवहारिक ज्ञान दिन सकेको खण्डमा बचत परिचालन र लगानी बारेमा अत्यधिक सचेतना फैलाउनु पर्ने उनले विचार पोखे । 

सेयर बजारलाई पूँजी संकलनको राम्रो माध्यम र लगानीको स्रोत भएको उल्लेख गर्दै नेपाल सरकारका लागि समेत पूँजीको दरिलो सर्वसुलभ स्रोतका रुपमा रहेको उनको धारणा छ । 

लहैलहैमा र नबुझी सेयरको लगानीले प्यानिक बनाउने भएकाले सचेत हुन जरूरी रहेको औल्याउँदै लगानीलाई अल्पकालीन र दीर्घकालीन समयका लागि छुट्याउनुपर्ने उनले बताए । 

सेयर बजारमा नै आफ्नो भविष्य बनाउने धूनमा लागेका उनले कम्पनीको संचालक हुने धोको रहेको र यसैलाई प्रोफेसन बनाउने उनको सपना छ ।