काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा पहिरो गएको छ । नेप्से परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर)तर्फ नै ठूला पहिरा गएका हुन् । इण्डेक्स र टर्नओभर एकसाथ ओरालो लाग्नुुले बजार आगामी दिनमा अझ धेरै घट्नसक्ने संकेत गर्दछ । बजारमा सेयर बिक्रीको चाप उच्च रहेका कारण यसरी पहिरो गएको हो । यस्तो बेलामा राम्रा कम्पनीको सेयर अत्तालिएर बिक्री गर्नु हुँदैन । बजारमा त्रास फैलाउने र राम्रो कम्पनीको सेयर बिक्री गर्न लगाएर त्यसलाई सस्तोमा किन्ने गिरोह समेत सक्रिय हुने हुँदा लगानीकर्ताले घट्दो बजारमा विशेष रुपमा सचेत भई निर्णय लिनुु उत्तम हुने विश्लेषकहरु बताउँछन् । 

इण्डेक्स र टर्नओभर एकसाथ ओरालो लाग्नुुले बजार आगामी दिनमा अझ धेरै घट्नसक्ने संकेत गर्दछ । यस्तो बेलामा राम्रा कम्पनीको सेयर अत्तालिएर बिक्री गर्नु हुँदैन । 

आइतबार नेप्से परिसूचक २४.४५ अंकले घटेर १३१३.०१ मा झरेको छ । कारोबार रकम पनि घटेर २५ करोड ६९ लाखको हाराहारीमा आइपुुगेको छ । यो दिन सबै समूहको परिसूचकमा रातो पोतियो । सबैभन्दा बढी अन्य समूह र बिमाको परिसूचक घट्यो । बिमामा १६८.८६ अंक(२.८८ प्रतिशत)को गिरावट आयो भने अन्इ समूह ४१.०७(५.८७ प्रतिशत)अंकले घट्यो । वाणिज्य बैंक समूहले १८.१८, विकास बैंक ७.९९, जलविद्युत २६.७८, बित्त समूह ८.३३, उत्पादनमूलक १.२९ र होटल समूह २९.१२ अंकले घटे । 

'क' वर्गका कम्पनीतर्फ लगानीकर्ताको आकर्षण ह्वात्तै घटेका कारण सेन्सेटिभ इण्डेक्स ५.८६ अंकले घट्यो भने फ्लोट इण्डेक्समा १.५८ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार १ सय ३२ कम्पनीका ५ लाख १२ हजा ६ सय ३० कित्ता सेयर २५ करोड ६९ लाख बढीमा किनबेच भयो । सबैभन्दा बढी कारोबार बोनस सेयर र हकप्रदका लागि बुक क्लोजको मिति तथा साधारणसभा तोकेको कुमारी बैंक लिमीटेडले गर्यो । यो बैंकले ३ करोड २४ लाख बढीको कारोबार गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १९ लाख, शिखर इन्स्योेरेन्सले १ करोड ९ लाख, एभरेष्ट बैंकले १ करोड ४ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीमध्ये अन्यको कारोबार १ करोडभन्दा तलै रह्यो । ती १० कम्पनीमा ७ स्थानमा वाणिज्य बैंकको बर्चश्व रह्यो । बिमा, जलविद्युत र अन्य समूहले १ १ स्थान ओगटे । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार १३२ कम्पनीको कारोबार भएकोमा १७ कम्पनीको सेयर मूल्य मात्र बढ्यो । बाँकी ११५ कम्पनीको लगानीकर्तामा रुवाबासी चल्यो । बजारमा पहिरो जाँदा समेत साहारा विकास बैंकका लगानीकर्ताले भने पैसा छापे । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । सबैभन्दा बढी सिन्धुु विकास बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो । नेपाल टेलिकमले ६.४८ प्रतिशतले सम्पत्ति गुमायो भने सिद्धार्थ इन्स्योरेन्स, एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो । आइतबार सेयर बजारमा सूचिकृत सबै जीवन तथा निर्जीवन बिमा कम्पनीको सेयर मूल्य घट्यो ।