काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि बजारमा बिग मर्जरको प्रभाव देखिएको छ । 

यो दिन बिग मर्जरको क्रममा राम्रा र ठूला बैंकले कमजोर बैंकलाई राम्रो भाउ दिएर उठाउन थालेपछि बजारमा त्यसको प्रभाव देखिएको हो ।
 
यो दिन पनि तुलनात्मक रुपमा कमजोर देखिएका वाणिज्य बैंकहरुको कारोबारमा चमक आएको छ । यस्ता कम्पनीको सेयरमा कारोबारको चाप सिर्जना भएको छ । 

ठूला वाणिज्य बैंकहरुको सेयरमा भने बिक्री चाप देखिएको छ । 

यो दिन नेप्से परिसूचक ४.४५ अंकले घटेर १२५६.०४ को विन्दूमा सीमित बन्न पुगेको छ भने कारोबार रकम ५४ करोड माथि रहेको छ । 

राम्रा र बलिया कम्पनीमा भने बिक्री चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स १.११ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४४ अंकको गिरावट देखिएको छ । 

नेप्सेका ६ उपसमूहको सूचकमा रातो पोतिएको छ भने बाँकी ६ वटै उपसमूहको सूचक बढेको छ । 

बैंकिङ समूह ६.७ अंकले घटेको यो दिन ट्रेडिङ समूहमा १.३५ अंक, जलविद्युत समूहमा ३.१६ अंक, जीवन बिमा समूहमा ५०.२४ अंक, माइक्रोफाइनान्स समूहमा ९.०७ अंक र अन्य समूहमा ०.४६ अंकको गिरावट आएको छ । 

यो दिन होटल समूह ६.८४ अंकले बढेको छ भने विकास बैंक समूहमा ३.१५ अंक, बित्त समूहमा २.६९ अंक, निर्जीवन बिमा समूहमा ३८.३२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ११.०७ अंक र म्युचुअल फण्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारका १७३ कम्पनीका २२ लाख १६ हजार ४९३ कित्ता सेयर ५४ करोड ५ लाख २९ हजार ४६५ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी सिभिल बैंकले ५ करोड  ७९ लाख बढीको कारोबार गरेको छ । 

मेगा बैंकले ४ करोड ६९ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले ४ करोड १० लाख, सेञ्चुरी कमर्सियल बैंकले ३ करोड २६ लाख, कुमारी बैंकले २ करोड ५४ लाख, प्रभू बैंकले २ करोड ११ लाख, एनसीसी बैंकले १ करोड ६२ लाख, कृषि विकास बैंकले १ करोड २६ लाख, लक्ष्मी बैंकले १ करोड २० लाख र सानिमा बैंकले १ करोड १२ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाए । स्वाभिमानको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो भने दिव्यश्वरीको सेयर मूल्य ९.२३ प्रतिशतले बढ्यो । 

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट भयो । यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो ।