काठमाण्डौ । वर्षान्त र मौद्रिक नीतिको प्रतिक्षा लगायतका कारण बजार चम्किन सकेको छैन । यिनै कारणले बुधबार पनि नेप्से परिसूचक सुस्त रह्यो । यो दिन नेप्से परिसूचक १.१२ अंकले घटेर १२४९.१५ को विन्दूमा सीमित हुन पुग्यो । 

यो दिन बैंकिङ समूह १.७८ अंकले बढ्यो भने माइक्रोफाइनान्स समूह ३.५२ अंक र जीवन बिमा समूह १.४४ अंकले बढे । 

बाँकी सबै समूहको सूचकमा रातो पोतियो । होटल समूह ३.७८ अंकले घटेको यो दिन विकास बैंक समूहमा २.७६ अंक, जलविद्युत समूहमा ४.५४ अंक, बित्त समूहमा ०.९८ अंक, निर्जीवन बिमा समूहमा १६.७५ अंक, उत्पादन तथा प्रशोधन समूहमा २७.०१ अंक, म्युचुअल फण्ड समूहमा ०.११ अंक र अन्य समूहमा ६.९३ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन सिभिल बैंकको ठूलो परिमाणमा संस्थापक सेयरको कारोबार भयो । सिभिल बैंकले अक्सनमा राखेको १७ करोड ५३ लाख बढीको सेयर कर्मचारी सञ्चयकोषले उठाएर बजारमा कारोबारमा ल्याउँदा कारोबार रकम ५७ करोड ४३ लाखको उचाईमा पुगेको देखिएको छ । 

यो दिन बजारमा १६८ कम्पनीका २९ लाख ९८ हजार  ९४७ कित्ता सेयर किनबेच भयो । 

यो दिन नागरिक लगानीकोषले ४ करोड ११ लाख बढीको सेयर कारोबार गर्यो भने नेपाल बैंकले २ करोड २३ लाख, एनआइसी एशियाले १ करोड ६५ लाख, शिवम सिमेन्टले १ करोड ५५ लाख, प्रभू बैंकले १ करोड ५१ लाख, मेगा बैंकले १ करोड २९ लाख, नेपाल टेलिकमले १ करोड २८ लाख, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १ करोड २१ लाख र कृषि विकास बैंकले १ करोड ६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन इन्फिनिटी लघुवित्तको सेयरमा पोजिटिभ सर्किट लागेको छ । कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

सिभिल लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आयो ।