काठमाण्डौ । कतिपय विज्ञहरुले नेप्से परिसूचक ११८० भन्दा तल ओर्लदैन भन्ने दाबी पेश गरिरहेको बेला बजार त्योभन्दा पनि तल झरेको छ । 
सोमबार नेप्से परिसूचक १४.४५ अंकले घटेर ११७०.३४ को विन्दूमा सीमित हुन पुग्यो । 

अब बढ्ला कि भन्ने आशा सँगालेर बसेका लगानीकर्ताहरुका लागि सोमबारको दोहोरो अंकको गिरावटले झड्का दिएको छ ।

नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७५/७६ को आर्थिक तथा वित्तीय स्थितिको विश्लेषण सार्वजनिक गरेको थियो । सो क्रममा देशका अर्थतन्त्रका प्रमुख सूचकहरुमा निराशाजनक अवस्था देखिएको छ । यसले समेत लगानीकर्ताको कमजोर मनोबलमा थप प्रहार गरेको देखिएको छ । 

त्यसै पनि बजार घटेर निराश बनिरहेका लगानीकर्ताहरुका लागि देशको अर्थतन्त्र कुरुप तस्विर मनोबल गिराउने थप कारण बनेर अगाडि आएको देखिएको छ । विश्लेषकरुले यही कारण समेत बजारमा दोहोरो गिरावट आउन पुगेको दाबी गरेका छन् । 

पछिल्लो समय बजार घटाउनका लागि आवश्यक अन्यौलहरुको चाङ खडा गरिएको छ । अर्थमन्त्रीले मुद्रा तथा पूँजीबजार सुधारका लागि भन्दै गठन गरेका कार्यदलले तत्काल गर्नुपर्ने भनी दिएका ५८ बुँदे सुझावमध्ये धेरैजसो कार्यान्वयन हुन सकेको छैन । 

पूँजीगत लाभकरको गाँठो फुक्न निकै धेरै समय लागेको छ भने बैंक ब्याजदर लगानीकर्ताले चाहेजस्तो सस्तिन सकेको छैन । यसले समेत लगानीकर्ताको मनोबलमा नकारात्मक प्रहार गरिरहेको छ । 

अर्कोतर्फ, नेपालका बैंकहरुको आन्तरिक सिस्टम कति कमजोर रहेछ भन्ने कुरा दुई दिनअघि चिनिया ह्याकरहरुले विभिन्न बैंकको एटीएमको सिस्टमै ह्याक गरेर २ करोड बढी पैसा चोरी गरेको घटनाबाट खुलेको छ । यसले समेत लगानीकर्तालाई त्रसित बनाएको दाबी गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नाफा तथा समग्र आम्दानी घट्ने अवस्था सिर्जना भएकै त्रासकाबीच बैंकहरुले डिजिटल माध्यमको सुरक्षाका लागि निकै ठूलो खर्च गर्नुपर्ने र यसले बैंकको ब्यालेन्ससिटमै पनि प्रभाव पार्ने कतिपयको विश्लेषणले समेत बजार घटाउन मद्धत गरिरहेको केही विश्लेषकहरु दाबी गर्छन् । 

सोमबारको बजारलाई तिजले समेत छोएको हुनसक्छ । सेयर बजारमा पछिल्लो समय महिला लगानीकर्ताको संख्या अत्यधिक छ । तर, महिलाहरु यो दिन तिजको रमाइलोमा व्यस्त हुँदा बजारमा उनीहरुको सक्रियता शून्य झै भयो । यसले समेत बजारलाई दोहोरो अंकले घटाउन सहयोग गरेको हुनसक्छ । 

यो दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकम भने ४० करोड माथि छ । यसले बजारलाई कारोबार रकमले साथ नै छाडिहालेको भन्ने अवस्था छैन । त्यसकारण लगानीकर्ता धेरै नै त्रसित भने बन्न हुँदैन । यस्तो बेलामा संयमता अपनाई लगानीको निर्णय लिनु उचित हुने कतिपय  विज्ञको सुझाव छ । 

‘बजार प्रवेश गर्नेहरुका लागि बजार घटेको बेलाजस्तो स्वर्णिम अवसर अरु कुनै हुनसक्दैन ।’ विज्ञहरु भन्छन्–‘बजार घटेकै बेला सस्तो मूल्यमा राम्रो कम्पनीको सेयर उठाउनले नै बजार बुम भएको बेला कमाउने हो । खासमा भन्दा किन्ने सही बेला नै यही हो ।’ 

सोमबार राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.९८ अंकको गिरावट आएको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०८ अंकको गिरावट आयो । 

यो दिन बजारका सबै समूहका उपसूचकमा रातो पोतियो । बैंकिङ समूह १२.५९ अंकले घट्यो भने होटल समूहमा ०.३४, विकास बैंक समूहमा १२.९ अंक, वित्त समूहमा ६.०४ अंक, माइक्रोफाइनान्स समूहमा २४.९८ अंक, जीवन बिमा समूहमा ९५.६८ अंक, निर्जीवन बिमा समूहमा ७१.२७ अंक, जलविद्युत समूहमा १४.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०.२ अंक, म्युचुअल फण्ड समूहमा ०.०६ अंक र अन्य समूहमा ७.३६ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका १३ लाख ८० हजार ६६० कित्ता सेयर ४० करोड ७५ लाख ६९ हजार ७१२ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल बैंकले २ करोड ५६ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५० लाख, यूनाइटेड फाइनान्सले २ करोड ४४ लाख, सबैको लघुवित्तले १ करोड ९३ लाख, कुमारी बैंकले १ करोड ८८ लाख, कृषि विकास बैंकले १ करोड ८२ लाख, शिवम सिमेन्टले १ करोड ५१ लाख, डिप्रोक्स लघुवित्तले ८८ लाख, प्रभू बैंकले ८५ लाख र ग्रामीण विकास लघुवित्तले ८३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले बढ्यो । 

ग्रामीण विकास लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो ।