काठमाण्डौ । नेप्से परिसूचकमा सोमबार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको छ। 

बजार खुल्नेबित्तिकै ५३ सेकेन्डमै नेप्से परिसूचकमा ४ प्रतिशत बढेपछि पहिलो पोजेटिभ सर्किट ब्रेक लागेको थियो। पहिलो सर्किट ब्रेक लागेपछि नेप्सेले कारोबार २० मिनेटका लागि स्थगित गरेको थियो। 

त्यसपछि खुलेको कारोबार पुनः १ मिनेटभित्रै ५ प्रतिशतले बढेपछि दोस्रो पोजेटिभ सर्किट लागेको हो। योसँगै नेप्सेले ४० मिनेटका लागि कारोबार स्थगित गरेको छ।

यो नेप्से परिसूचक ७४.०२ अंकले बढ्दै १५५३.०५ को विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्समा १५.९६ अंकको उछालसँगै ३२८.४० को उचाइमा पुगेको छ। 

अहिलेसम्म नेप्सेमा सूचीकृतमध्ये १२२ कम्पनीका २ लाख २३ हजार ६९६ कित्ता सेयर ९ करोड १९ लाख ४२ हजार ८६१ रुपैयाँको कारोबार भएको छ। 

अहिलेसम्म ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक र प्राइम कमर्सियल बैंकको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो। 

हिजो आइतबार पनि १ घन्टाभित्रै तीनवटा पोजेटिभ सर्किट ब्रेक लागेर बाँकी कारोबार स्थगित गरिएको थियो।