काठमाण्डौ । लगानीकर्ताले एकैदिन २४ अर्ब रुपैयाँभन्दा बढी गुमाएका छन्।

आज मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आएसँगै कुल बजार पु्ँजीकरणमा २४ अर्ब रुपैयाँले घटेको हो। अर्थात् हिजो सोमबार कुल बजार पुँजीकरण ३२ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बढी पुगेकोमा आज सूचक ओरालो लाग्दा कुल बजार पुँजीकरण घटेर ३२ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ हाराहारीमा सीमित हुन पुगेको छ।

आज मंगलबार धेरै दिनपछि नेप्सेमा दोहोरो अंकले गिरावट आई बजारले करेक्सन सुरु गरेको छ। जुन आगामी सातासम्म करेक्सन आउने विश्लेषकहरुको दाबी छ। 

अघिल्ला साताहरुमा खरिद गरेका संस्थागत लगानीकर्ताको बिक्रीचाप आउने भएकाले बजारले अब करेक्सनको रुप लिने विश्लेषकहरुको जिकिरसमेत छ। नियमित कारोबार समयमा केही क्षण बजारलाई माथि चढाउँदै भारी परिमाणमा संस्थाहरुले २० देखि ३० प्रतिशत प्रफिट बुक गरिरहेका कारण बजारले करेक्सन लिने पर्याप्त आधारहरु दिएको उनीहरु बताउँछन्।

आज मंगलबार नेप्से परिसूचक १७.७९ अंकको गिरावट नेप्से २४२३.०९ कायम भएको छ। आज सवा ८ अर्ब रुपैयाँ बढी सेयर कारोबार भएको छ।