काठमाण्डौ । मंगलबार झै बुधबार पनि बजारमा हरियाली छाएको छ । बजार परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने केही घटेको छ । 

बजारमा सामान्य अंकको घटबढ भइरहँदा समेत कतिपय नपत्याउँदा र साना कम्पनीका लगानीकर्ता चाहि मालामाल भइरहेका छन् । विगत केही दिनदेखि बोटसर्ल नेपाल(तराई) लिमीटेड, हिमालयन डिस्टीलरीका लगानीकर्ताले प्रत्येक दिनजसो कमाइरहेका छन् । बोटसर्ल नेपालले बुधबार चाहि २ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमायो । केही साना र नपत्याउँदा लगानीकर्ताको सेयर मूल्य पनि दैनिकजसो बढिरहेको छ । ठूला कम्पनीले प्रत्येक दिनजसो गुमाइरहेको बेला साना कम्पनीले चाहि आफ्नो सेयरधनीलाई मालामाल बनाइरहँदा ठूला मात्र होइन, साना र राम्रा कम्पनीमा गरेको लगानीले समेत राम्रै प्रतिफल दिन्छ भन्ने देखाउँछ ।

बुधबार नेप्से परिसूचक ३.०७ अंकले बढेर १६२९.५८ अंकको उचाईमा पुुगेको छ भने होटल बाहेकका सबै समूहको सूचकमा हरियो पोतिएको छ । 

होटल समूहमा १५.१ अंकको गिरावट आयो । वाणिज्य बैंक र बिमा समूह क्रमशः २.४१ र २०.७३ अंकले बढे । विकास बैंक, बित्त समूह, जलविद्युत समूहमा क्रमशः ४.२३, १.५ र ४.०९ अंकले बढे । उत्पादनमूलकमा ७.७ अंकको वृद्धि देखियो भने अन्य समूह २.६ अंकले बढ्यो । 

'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.४५ अंकले बढ्यो भने समग्र कारोबारमा सामान्य सुधार हुँदा फ्लोट इण्डेक्स पनि ०.२१ अंकले वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबारको तुलनामा कारोबार रकम बुधबार केही कम भए पनि सूचकसँगको तुलनामा स्वभाविक कारोबार भएको देखिन्छ । बुधबार १ सय ४८ कम्पनीका कुल १३ लाख ६६ हजार ९ सय ७१ कित्ता सेयर ६९ करोड ४४ लाख २६ हजार ४ सय ४८ रुपैयाँमा किनबेच भयो । बुधबार सबैभन्दा बढी ललितपुर फाइनान्सको ५ करोड २८ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

सिद्धार्थ बैंकले ४ करोड ८५ लाख, हिमालयन जनरल इन्स्योरेन्सले ४ करोड ३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ३७ लाख, नेपाल लाइफ इन्स्योेरेन्सले २ करोड ८३ लाख, मेरो माइक्रो फाइनान्सले २ करोड ४३ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंकले, ३ स्थान बिमा कम्पनीले, उत्पादमूलकले एक स्थान, फाइनान्सले १ स्थान र विकास बैंकले एकस्थान कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा सामान्य वृद्धि भए पनि २ कम्पनीका लगानीकर्ता चाहि मालामाल भए । आरएसडिसी लघुवित्त बित्तीय संस्था र हिमालयन डिस्टीलरीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

बुधबार वरुण हाइड्रोपावर कम्पनी र अरुण फाइनान्सले सबैभन्दा धेरै ६ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।