काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१.४६ अंकले घटेको छ। 

यो दिन २१.४६ अंकले घटेको बजार १ हजार ८२६.२३ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३६ अंकले घटेर ३५२.३९ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर ९७ करोड २३ लाख ६७ हजार २२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले हालैमात्र प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । यति हुँदा पनि सेयर बजारमा उच्च गिरावट आएको  छ प्रथम त्रैमासमा बैंकहरुले उल्लेख्य नाफा बढाउन सकेनन् । अधिकांशको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको देखिन्छ । 

आजको बजार घटेको बारे बजार जानकार महेश रिजाल भन्छन्, ‘बजारमा ओभर सप्लाई भयो ।बजार घट्दा पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेन । बैंक तथा वित्तीय संस्थाको प्रथम त्रैमासको वित्तीय विवरण त्यति राम्रो आएन जसका कारण बजार प्रभावित भएको हो । दोस्रोबजारमा आईपीओ जारी गरेका कम्पनीहरु बढ्दा दोहोरो दबाब भयो । नेपाल धितोपत्र बोर्डबाट सप्लाई त आयो तर बजार घट्दा लगानीकर्ताहरुको माग पनि सम्बोधन हुनुपर्दथ्यो ।’ 
उनका अनुसार बजारमा सुधार ल्याउन जोखिम भार हटाउनुपर्छ । प्रधानमन्त्री तहबाटै यस विषयको सम्बोधन हुन आवश्यक छ । यो कुराको एक्सन लिन अव ढिला गर्नुहुँदैन ।’ 
 

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज बजार घट्नुमा केही बैंकको लाभांश घोषणाले पनि हो । मार्केट घट्दासमेत खरिदकर्ताहरु हावी हुन सकेनन । संस्थागत लगानीकर्ताहरु  पर्ख र हेरको अवस्थामा रहेकाले बजार घटेको हो । अर्थतन्त्रसमेत चलायमान भए । आजको बजार हेर्दा कोही पनि सेयर किन्न आएनन् । चाडपर्वको सिजन छ, मार्केटको अवस्था यस्तै कायम रहने हो भने कसरी पर्व मनाउने हो, त्यो पनि चिन्ताकै विषय छ । 
उनका
अनुसार बजार केही समयसम्म साइड वजे हुन सक्छ, तर पनि सर्टटर्म बुम होला । आजको कारोबार हेर्दा फाइनान्स, बैंक सूचक सम्हालिएको छ । बजार १ हजार ८०० विन्दुबाट नै फर्कन सक्छ । 

 

आज नेप्से उपसमूहमा रहेका होटल एन्ड टुरिज्म बाहेक सबैमा रातो पोतिएको छ ।  यो दिन होटल एन्ड टुरिज्म समूह ०.३८ अंकले बढेको छ भने अरु समूहमा रातो पोतिएको छ ।

यो दिन व्यापार समूह सबैभन्दा बढी २.११ प्रतिशतले घटेको छ । यसैगरी,विकास बैंक समूह १.६४ प्रतिशतले घटेको छ ।यसैगरी वाणिज्य बैंक समूह १.५० प्रतिशतले घटेको  छ। त्यस्तै लगानी समूह १.१६ प्रतिशतले घटेको  छ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन नबिल बैंकका संस्थापक सेयरधनीको सर्वाधिक ४६ करोड बढीको सेयर कारोबार भएको छ । यसैगरी दोस्रोमा ग्लोबल आइएमई बैंककोे ३१ करोडभन्दा बढीको कारोबार भएको छ । उक्त कम्पनीले आज मात्रै वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश छ । यसैगरी एनआईसी एशिया बैंकको ३१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.९७ प्रतिशतले उकालो लागेको छ । यो कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन् । यसैगरी,तारा गाउँ रिजेन्सी होटलको सेयरभाउ ५.४७ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, मायाखोला हाइड्रोपावरको सेयर भाउ भने ४.२५ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै एशियन हाइड्रोपावरको सेयर भाउ ३.७५ प्रतिशतले बढेको छ । यो दिन हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरभाउमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीले आजै मात्र पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको  छ। जसअनुसार कम्पनीले पहिलो त्रैमासमा खराब नतिजा प्रस्तुत गरेको छ । 

यसैगरी,बाराही हाइड्रोपावरको सेयरभाउ ७.९८ प्रतिशतले ओरालो लागेको छ ।त्यस्तै  यूनाइटेड ईदीमर्दि हाइड्रोपावरको सेयभाउ ६.७६ प्रतिशतले ओरालो लागेको छ ।