काठमाण्डौ । साताको पहिलो दिन नै बजारमा सन्नाटा छाएको छ । बजार मापक परिसूचक नेप्सेमा पहिरो गएको छ भने कारोबार रकम चाहि बढेको छ । आइतबार नेप्से परिसूचकमा ३४.८९ अंक(२.२४ प्रतिशत)को पहिरो गएको हो । 

बजार बढ्ने लगानीकर्ताहरुको आशामाथि आइतबारको कारोबारले चिसोपानी खन्याइदिएको छ । तर, नेप्से परिसूचकमा उच्च अंकले गिरावट आए पनि कारोबार रकमतर्फ भने राम्रो बढोत्तरी रहेकोले केही आशा गर्न सकिने ठाउँ भने बाँकी नै छ । 

बजार घट्नुपर्ने ठूला कारण केही नभए पनि विगत केही दिनदेखि बजारमा अत्यासलाग्दो अवस्था देखिएको छ । बजार परिसूचक घटेर आइतबारसम्ममा १५१९.६६ अंकमा झरिसकेको छ । 

बैंक तथा बित्तीय संस्थाहरुमा लगानीयोग्य रकम पर्याप्त भई सेयर कर्जा निकै सहज र सरल भएको, राजनीतिक वातावरण समेत राम्रै भएको, लाभांशको बहार आएको र समग्रमा बढ्नुपर्ने प्रशस्त कारण हुँदा हुँदै पनि बजार घटिरहनुुलाई धेरैले केही गिरोहहरुको चलखेलको परिणाम भन्ने गरेका छन् । अहिले बजारमा सेयरको अधिक आपूर्ति बाहेक घट्नुपर्ने अन्य ठूला कारण छैन । 

एक अगुुवा लगानीकर्ताको भनाईमा बजारमा वर्षौदेखि सिण्डिकेट खडा गरेर नियोजित रुपमा घटाइरहेको समूहले अहिले पनि तीव्र चलखेल गरिरहेको छ । सो समूहलाई नियामकका कतिपय अधिकारीहरुले समेत साथ दिंदा सोझा लगानीकर्ता दिनहुँ फसिरहेका छन् । पछिल्लो कालमा निर्धन उत्थान लगायतका बैंकहरुले दिने संभावित लाभांशको सूचना पहिला नै चुहिनुु र यस्तै कारणले समेत बजारमा अहिले कुन हदसम्म चलखेल र इन्साइडर ट्रेडिङको धन्दा फस्टाइरहेको छ भनेर बुुझ्न सकिने ती लगानीकर्ताको दाबी छ । 

आइतबार बजारका सबै उपसमूहको सूचकमा पहिरो गयो । बैकिङ समूह २८.६६ अंक, बिमा समूह २९६.७१ अंक, विकास बैंक ४९.६ अंक, होटल समूह ५१.३४ अंकले घटे । यस्तै, जलविद्युत समूह ४०.४८, बित्त समूह १३.०५, उत्पादनमूलक २४.२४ अंक तथा अन्य समूह २.८९ अंकले घटेका छन् । 

‘क’ वर्गका कम्पनीहरुप्रतिको आकर्षण तीव्र गतिमा घटेका कारण सेन्सेटिभ इण्डेक्स ६.७८ अंकले घटेको छ भने फ्लोट इण्डेक्समा २.५७ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १ सय ५८ कम्पनीका १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर ९२ करोड ४२ लाख ३४ हजार २३ रुपैयाँमा किनबेच भयो । 

सेयर तथा नगद गरी ८० प्रतिशत बढी लाभांशको बम्पर घोषणा गरेको निर्धन उत्थान बैंकले सबैभन्दा बढी १० करोड ६७ लाख बढीको कारोबार गर्यो । 

यस्तै, नेपाल बैंकले ५ करोड ४ लाख, नबील बैंकले ४ करोड ९२ लाख, नेपाल लाइफले ३ करोड ६८ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ८९ लाख, छिमेक लघुवित्त विकास बैंकले २ करोड ६४ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र २ स्थान विकास बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा पहिरो गएको दिन समता माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ४.९२ र निर्धन उत्थानको मूल्य ४.४८ प्रतिशतले बढ्न पुुग्यो । यो दिन १२ कम्पनीको मूल्य मात्र बढ्यो, बाँकी सबै कम्पनीले गुमाए । 

यो दिन छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्यमा पहिरो गयो । यो कम्पनीका सेयरधनीले एकैदिन १० प्रतिशतले सम्पत्ति गुमाए । जनलर फाइनान्स र हाम्रो विकास बैंकको सेयर मूल्य ८ प्रतिशतले घट्यो ।