काठमाण्डौ । दोश्रो बजारमा बियरिस ट्रेण्ड सुरु भएको हल्ला फैलिएपछि लगानीकर्ता अत्तालिएका छन् । बजार बढ्ने आशामा रहेकाहरु निरन्तर बजार घटिरहेका कारण साच्चिकै बियरिस ट्रेण्ड नै पो सुरु हुने हो कि भन्ने डरले बढी अत्तालिएका हुुन् । 

गत वर्षहरुजस्तै चाडपर्वको पूर्वसन्ध्यामा बजार बढ्ला र यही मौकामा सेयर बिक्री गरी प्राप्त नाफाबाट पर्व खर्च टार्ने योजनामा रहेका लगानीकर्ता बढी निराश देखिएका छन् । मंगलबारको बजार प्रवृति हेर्दा कतिपय लगानीकर्ताहरुले राम्रा कम्पनीको सेयर कौडीको भाउमा बिक्री नगर्ने अडान लिएका कारण समेत कारोबार रकम निकै धेरै घट्न पुुगेको देखिन्छ । 

सोमबार बजारमा सामान्य सुधार देखिए पनि मंगलबार भने नेप्से परिसूचक र कारोबारतर्फ ठूलै पहिरो गएको छ । त्यसो हो भने के बजारमा बियरिस ट्रेण्ड नै सुरु भएको हो त ? बजारका विज्ञ तथा विश्लेषकबीच बियरिस ट्रेण्ड नै सुरु भएको हो भन्ने बिषयमा बिमति देखिए पनि बजार तत्काल बढ्ने अवस्था भने नरहेको बिषयमा एउटै मत देखिएको छ । 

एक विश्लेषकले कुनै दिन बजारमा सामान्य सुधार देखिए पनि समग्रमा हरेक दिनजसो दोहोरो अंकले सूचक घट्न थालेको र कारोबार रकम पनि घट्दो क्रममा रहेकोले अहिलेको बजारको ट्रेण्डलाई बियरिसको पूर्वसन्ध्या मान्नुपर्ने दाबी गरे । ‘बजारमा बियरिस टेण्डका पर्याप्त संकेत देखिइसकेका छन् ।’ ती विश्लेषकले थपे–‘यस्तो बेलामा लगानीकर्ता सचेत र धैर्यवान हुनुपर्छ ।’

तर, नेपाली सेयर बजारका जानकार दिलिप मुंनकर्मीले भने बजारमा बियरिस ट्रेण्ड नै सुरु नभइसकेको जिकिर गरे । ‘मेरो विचारमा बियरिस नै भन्ने आधार चाहिँ देख्दिँन, तर चाडबाडका कारण केही हप्ता कारोबार कम हुनु सामान्य हो ।’ उनले भने–‘जसलाई दशैंको लागि पैसा चाहिन्छ, उनीहरुले केही घाटामा समेत सेयर बेचेका हुनसक्छन्।’ कारोबार कम हुनुको एउटा कारण बेच्नेले सस्तोमा बेच्न नचाहनुु पनि हुनसक्ने उनको तर्क छ । तर, उनले दशैंतिहार अगाडिसम्म बजार बुम हुनसक्ने अवस्था भने नरहेको प्रष्ट्याए । 

मंगलबार के के भयो ?
मंगलबार नेप्से परिसूचक २१.०६ अंकले घटेर १५०२.२० अंकमा झरेको छ भने कारोबार रकम पनि घटेर ५७ करोडको हाराहारीमा सीमित बन्न पुुगेको छ । 

यो दिन अन्य समूहबाहेक सबै समूहको सूचकमा पहिरो गएको छ । 

बैकिंग समूह १८.१४ अंकले घटेको छ भने बिमा, विकास बैंक र बित्त समूह क्रमशः १८५.१, २९.८२ र १४.९ अंकले घटेका छन् । होटल समूहमा ४२.५३ अंकको गिरावट देखिएको छ भने जलविद्युत समूह १५.५७ अंकले घटेको छ । अन्य समूह भने २.६१ अंकले बढेको छ । 

बजारमा मन्दी आएका कारण क वर्गका कम्पनीहरुको कारोबारमा पनि उस्तै सन्नाटा देखिएको छ, यसैले सेन्सेटिभ इण्डेक्स ४.३१ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि १.४९ अंकले तल झरेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५३ कम्पनीका १० लाख ७० हजार ७ सय ४७ कित्ता सेयर ५६ करोड ९८ लाख ४३ हजार १ सय ३० रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ३ कराड ५२ लाख बढीको कारोबार गरेको छ । नबील बैंकले १ करोड ९२ लाख, सानिमा बैंकले १ करोड ८८ लाखको कारोबार गरेको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८० लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ६९ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ४९ लाख, नेको इन्स्योरेन्सले १ करोड १८ लाख, कृषि विकास बैंकले १ करोड १४ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक र ३ स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा पहिरो जाँदा समेत दुुई कम्पनीका लगानीकर्ताले भने पैसा छापे । यूनाइटेड फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यो दिन २० कम्पनीको मात्र सेयर मूल्य बढ्यो । 

यो दिन सबैभन्दा बढी कामना सेवा विकास बैंकले गुमायो । यो बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्न पुुग्यो । यस्तै, नबील बैंक,ङादी ग्रुुप पावर लिमीटेड र अरुण फाइनान्सको सेयर मूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट देखियो ।