काठमाण्डौ । सेयर बजारमा सुधार हुने आशामा बसेका आम लगानीकर्ताको आशा दिनहूँ खिइँदै गएको छ । बरु, उल्टो पछिल्ला दिनहरुमा बजार अझै घट्नसक्ने गरी खतराको घण्टी बज्न थालेको छ । विश्लेषकहरुले बजारमा लामो समयसम्म कारोबार रकम(टर्नओभर) र परिसूचक(इण्डेक्स) समानान्तर ढंगले घटे त्यसले बजारमा ठूलै पहिरो निम्त्याउनसक्ने विश्लेषण गर्छन् । पछिल्ला केही दिनको अवस्था हेर्ने हो भने इण्डेक्स र टर्नओभर समानान्तर ढंगले घटिरहेका छन् । सोमबार पनि अघिल्लो दिनको तुलनामा टर्नओभर र इण्डेक्स समानान्तर ढंगले घटेकोमा मंगलबार पनि त्यस्तै प्रवृति देखियो । 

यस्तो अवस्थामा हतारिएर खरीदबिक्रीको निर्णय गर्नुहुँदैन । बजार घटेको बेला राम्रो कम्पनीको सेयर सस्तोमै किन्ने अवसर बढी भन्दा बढी पोल्टामा राखेको राम्रो मानिन्छ । तर, घट्दो बजारमा अत्तालिएर राम्रो कम्पनीको सेयर कौडीको भाउमा बिक्री गर्ने मूर्खता चाहि गर्नुहुन्न । थप सेयर किन्ने पैसा छैन, तर राम्रो कम्पनीको सेयर छ भने यस्तो बेलामा चूप लागेर बसेको राम्रो हुने विज्ञहरुको सुुझाव छ ।  

मंगलबार नेप्से परिसूचक ३.१९ अंकले घटेर १५३३.५३ अंकमा झरेको छ भने कारोबार रकम पनि ४४ करोड ८३ लाखबाट घटेर ४१ करोड ८१ लाखमा झरेको छ । 

परिसूचकको हिसाबले हेर्ने हो भने ३.१९ अंकको झिनो गिरावटबाट अत्तालिनुुपर्ने अवस्था होइन । तर, दिनहुँको घट्दो सूचक र बजारलाई साथ छाड्दै गएको टर्नओभरले लगानीकर्तामा थप त्रासको वातावरण सिर्जना गर्न सक्छ । ठूला कारणबिना नै समानान्तर ढंगले इण्डेक्स र टर्नओभर घट्दा यसले बजार अझ दयनीय अवस्थामा पुुग्नसक्ने विश्लेषकहरु दाबी गर्छन् । 

सोमबारसँगको बजार प्रदर्शनलाई तुलना गर्ने हो भने समूहगत अवस्थामा भने केही सुधार आएको देखिन्छ । सोमबार एउटा समूहको सूचक मात्र बढेको थियो, जबकि मंगलबार ४ समूहको सूचक बढेको छ भने ४ समूहको सूचकमा रातो पोतिएको छ । 

बिमा समूह ४.०५, उत्पादनमूलक ३.४७, बित्त समूह ०.५५ र अन्य समूह ५.७८ अंकले बढेका छन् । उता, बैकिङ समूह चाहि ५.१५ अंकले घटेको छ । यस्तै, होटल समूह १६.९७ अंक, विकास बैंक समूह ७.७५ अंक तथा जलविद्युत समूह ५.१८ अंकले घटेको छ । 

‘क’ वर्गका कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.०९ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.३९ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका १२ लाख ४८ हजार ३ सय ७५ हजार कित्ता सेयर ४१ करोड ८१ लख ४० हजार २ सय ५२ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनी लिमीटेडको २ करोड ३४ लाख बढीको संस्थापक सेयर किनबेच भयो । नेपाल इन्स्योेरेन्स कम्पनीले १ करोड ५९ लाख, शिखर इन्स्योरेन्सले १ करोड ५३ लाख बढीको कारोबार गरे । ज्योति विकास बैंकको १ करोड ४४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल टेलिकमले १ करोड ४१ लाख बढीको कारोबार गर्यो । मुक्तिनाथ विकास बैंकको १ करोड ३४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३२ लाख, एनएलजी इन्स्योरेन्सले १ करोड १४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड १ लाख र सिद्धार्थ इन्स्योरेन्सले १ करोडको कारोबार गरे । 

यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बिमा कम्पनीले ओगटे भने २ स्थान विकास बैंक, एक स्थान वाणिज्य बैंक र एक स्थान अन्य कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि सोमबार झै मल्टीपर्पोज फाइनान्स कम्पनी लिमीटेडको सेयर मूल्य सबैभन्दा धेरै बढ्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । गोर्खाज फाइनान्सको मूल्यमा साढे ४ प्रतिशतको हाराहारीले वृद्धि भयो । 

यो दिन सबैभन्दा धेरै किसान माइक्रो फाइनान्सले गुमायो । यो कम्पनीको मूल्य ५.६ प्रतिशतले घट्न पुुग्यो । गुराँस लाइफ इन्स्योरेन्सको मूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।