काठमाण्डौ  । तरलताको समस्या सहज बनेसँगै सेयर बजारमा समेत सुधार हुन थालेको छ । मंगलबार बजार परिसूचक १२.२७ अंकले बढेको छ भने कारोबार रकम पनि बढेर ५० करोड माथि पुगेको छ । बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर ढंगले बढ्नुले बजारको सुखद भविष्यतर्फ संकेत गर्ने विश्लेषक बताउँछन् । 

सोमबारदेखिको बजारको प्रवृति हेर्ने हो भने निकट भविष्यमा बजार अझ माथि जाने संकेत देखिएको बजारका विज्ञहरुले दाबी गरेका छन् । उनीहरुले तरलताको समस्या सहज भई बैंक तथा बित्तीय संस्थाहरुले ब्याजदर समेत घटाउन थालेपछि यसले बजारमा सकारात्मक प्रभाव पारेको छ ।

अर्कोतर्फ, राजनीतिक समस्या समेत समाधान उन्मुख भई नयाँ सरकार गठनको दिन नजिकिएका कारण लगानीकर्ता उत्साहित देखिएका छन् ।

मंगलबार उत्पादनमूलक बाहेकका सबै समूहको सूचकमा बढोत्तरी भएको छ । उत्पादनमूलक समूह भने ३.११ अंकले घटेको छ । 

बैकिङ समूह १२.९६  अंकले बढेको छ भने बिमा समूह ३४.२८ अंक, विकास बैंक १४.३७, माइक्रोफाइनान्स समूह १७.९५ अंकले बढेका छन् । यस्तै, होटल समूह ६०.२ अंकले बढेको छ भने जलविद्युत समूह ५.८७, बित्त समूह ०.६४ र अन्य समूह ४.९६ अंकले बढेको छ ।  

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.६९ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ९ लाख १५ हजार ४ सय २६ कित्ता सेयर ५० करोड १७ लाख ७० हजार ५ सय ९ रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा  बढी नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड ३६ लाख बढीको कारोबार गर्यो । यस्तै, सानिमा माई हाइड्रोले ५ करोड ५२ लाख, एभरेष्ट बैंकले २ करोड २१ लख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ८२ लाख, बुटवल पावर कम्पनीले १ करोड ६६ लाख बढीको कारोबार गरे । राष्ट्रिय बिमा कम्पनीको १ करोड ५९ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा फ्रस्ट माइक्रोफानान्सको पनि १ करोड २४ लाख बढीको संस्थापक सेयरको कारोबार भयो । नेपाल टेलिकमले १ करोड २३ लाख, सिटिजन्स बैंकले १ करोड १५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन वेस्ट फाइनान्स कम्पनीले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ६.११ अंकले बढ्यो । यस्तै, दिव्यश्वरी हाइड्रोपावरको मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा घट्न पुग्यो ।