काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा सकारात्मक तरङ्ग आएको छ । यो दिन बजार परिसूचक १.४२ अंकले बढे पनि कारोबार रकममा भने  राम्रो बढोत्तरी भएको हो । 

नेप्से परिसूचक बढेर १४०५.९५ अंकको उचाईमा पुगेको छ भने कारोबार रकम ३५ करोड ४७ लाख माथि पुगेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकममा करिब ७ करोडको बढोत्तरी भएको हो । 

जानकार तथा विश्लेषकहरुले बजारमा झिनो भए पनि बढोत्तरी हुनु र आशालाग्दो बजारलाई कारोबारले साथ दिनुले भविष्यका लागि सुखद संकेतको रुपमा बुझ्न सकिने बताउँछन् । ‘तर, एकदिनको कारोबारको प्रवृतिलाई मात्र आधार मानेर बजार अब बढ्छ नै भन्नु हतारो हुन्छ ।’ एक विश्लेषकले भने–‘केही दिनसम्म लगातार आजको जस्तो प्रवृति(सूचक र कारोबार समानान्तर ढंगले बढ्नू) कायम रहे बजारमा वृद्धिको यात्रा सुरु हुने दाबी गर्छन् ।’

आइतबारको बजारमा केही कम्पनीहरुले दोश्रो त्रैमासमा गरेको लोभलाग्दो प्रगतिको प्रभाव समेत प्रतिबिम्बित भएको छ । जस्तो: एनएमबी बैंकले धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा छैठौ स्थान र इन्भेष्टमेन्ट बैंकले सातौ स्थान ओगट्यो । तर, कमाउनेको सूचिमा एनएमबी  बैंक आइतबार  नम्बर वान रह्यो । इन्भेष्टमेन्ट बैंकले समेत १ प्रतिशतको हाराहारीमा कमायो । 

यो दिन बैकिङ र विकास बैंक समूहको योगदानका कारण झिनो भए पनि नेप्से बढ्न सक्यो । बैकिङ समूह ५.९२ अंकले बढ्यो भने विकास बैंक समूहमा ४.७६ अंकको बढोत्तरी भयो । 

बाँकी अन्य सबै समूहको सूचक ओरालो लाग्यो । बिमा समूह १२.४९ अंकले बढ्यो भने जलविद्युत, होटल, बित्त समूह क्रमशः १६.९२, २८.०२ र २.७५ अंकले घटे । यस्तै, उत्पादनमूलकमा ९.३९, व्यापार समूहमा १०.३९, माइक्रोफाइनान्स समूहमा ५.४५ अंक र अन्य समूहमा ३.०३  अंकको गिरावट आयो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.६ अंकले बढ्दो समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ०.२ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन सबैभन्दा बढी सानिमा माई हाइड्रोले २ करोड ६८ लाख बढीको कारोबार गर्यो । बोनस सुरक्षित गर्ने अन्तिम दिन भएका कारण कृषि विकास बैंकले २ करोड ६ लाख बढीको कारोबार गर्यो भने नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८० लाख, नेपाल बैंकले १ करोड ३६ लाख, हिमालयन पावर पार्टनरले १  करोड ३१ लाख बढीको कारोबार गरे । एनएमबी बैंकले १ करोड २९ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ११ लाख, नबील बैंकले १ करोड ५ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ३ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनएमबी बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा गरेको लोभलाग्दो प्रगतिको प्रभाव देखियो । यहीकारण यो बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ३.५८ प्रतिशतले वृद्धि भयो । यस्तै, वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्सको मूल्य ३.३६ र लक्ष्मी  बैंकको मूल्य ३.३५ प्रतिशतले बढ्यो । 

यो दिन सिन्धु विकास बैंक र विशाल बजार कम्पनीका लगानीकर्ताले धेरै गुमाए । सिन्धुको सेयर मूल्य ६.२८ र विशाल बजार  कम्पनीको ६.१८ अंकले घट्यो ।