काठमाण्डौ । सार्वजनिक निश्कासनमा ठूलो रकम फस्नु र सरकारको ढिकुटीमा रहेको रकम खर्च नभएर लगानीयोग्य रकमको अभावले चरम रुप लिई अर्थतन्त्र नै धरमराइरहँदा सेयर बजारमा बुधबार डरलाग्दो पहिरो गएको छ । 

मंगलबारदेखि ठूलो पहिरोको सामना गरेको बजारमा बुधबार झनै डरलाग्दो पहिरो गई सयौं लगानीकर्ताहरुले करोडौं रुपैया गुमाएका छन् ।

बुधबार १३५ कम्पनीको कारोबार हुँदा १२६ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउन पुुगे । प्रभूू बैंकको संस्थापक सेयरका कारण कारोबार रकम भने ५९ करोड २८ लाखको उचाईमा पुुग्यो । 

नेप्से परिसूचक ३६.३८ अंकको उच्च गिरावटसँगै १३९६.६१ अंकमा झरेको हो । उत्पादनमूलक बाहेक सबै समूहको सूचकमा उच्च गिरावट आएको छ । 

सबैभन्दा बढी बिमा समूहको परिसूचक घट्यो । यो समूहमा २६७. ४१ अंकको डरलाग्दो पहिरो गएको हो । यस्तै, वाणिज्य बैंक समूह ३६.१४, होटल समूह ५८.५६, विकास बैंक समूह २९.२६, जलविद्युत समूह ५१.४९, बित्त समूह २४.९९ र अन्य समूह २.३१ अंकले घटे । उत्पादनमूलकमा भने १२.६१ अंकको बढोत्तरी देखियो । 

सेन्सेटिभ इण्डेक्समा ७.८९ को पहिरो गयो भने फ्लोट इण्डेक्स पनि २.७१ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १३५ कम्पनीको १७ लाख बढी सेयर ५९ करोड २८ लाखमा किनबेच भयो । बजारमा सेयर बिक्रीको उच्च चाप हुँदा सबै लगानीकर्ताले टाउकोमा हात राख्नुपर्ने अवस्था सिर्जना भयो । 

सबैभन्दा बढी प्रभूू बैंकको १७ करोड ११ लाखको प्रोमोटर सेयर किनबेच भयो । नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ३० लाख, एनबी बैंकले १ करोड ९१ लाखको कारोबार गरे भने प्रभूू बैंकको १ करोड ९० लाख बराबरको प्रोमोटर सेयरको पनि किनबेच भयो ।  यस्तै गरिमा विकास बैंकले १ करोड ८० लाख, शिखर इन्स्योरेन्सको १ करोड ५७ लाख, कृषि विकास बैंकको १ करोड २६ लाखको सेयर किनबेच भयो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंकले, २ स्थान बिमा कम्पनी र १ स्थान विकास बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार १३५ कम्पनीको कारोबार भएकोमा ९ कम्पनीको सेयर मूल्य मात्र बढ्यो, त्यो पनि झिनो अंकले । सबैभन्दा धेरै गरिमा विकास बैंकको सेयर मूल्य बढ्यो । यो कम्पनीको सेयर मूल्यमा २.६६ अंकको बढोत्तरी देखियो । युनिलिभर नेपाल लिमीटेडको सेयर मूल्य पनि २ प्रतिशतले वृद्धि भयो । बाँकी ७ कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा पनि कम अनुपातको वृद्धि भयो । 

बुधबार गुमाउनेहरुको पनि लहर चल्यो । सबैभन्दा बढी राष्टिय विमा संस्थानको सेयर मूल्य घट्यो । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आयो । नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा घट्यो । वरुण हाइडो पावरको सेयर मूल्यमा ९ प्रतिशतको गिरावट आयो भने सगरमाथा फाइनान्सका लगानीकर्ताले ८.२६ प्रतिशतले सम्पत्ति गुमाए । 

बुधबार ३१ कम्पनीको सेयर मूल्य ४ प्रतिशतदेखि साढे ७ प्रतिशतको अनुपातले घट्न पुुग्यो ।