काठमाण्डौ । अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि त्यसको प्रभावले बजारमा भीषण पहिरो गएको छ । पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ४१.५६ अंकले घटेर १३०४.४३ विन्दूमा सीमित बन्न पुुगेको हो । कारोबार अवधिमा नेप्से पसिूचक १२०० को लाइनमा झरेको थियो, तर बन्द हुँदा केही सुधार भयो । 

बजारमा बिक्रीको चाप उच्च देखिएका कारण बजार परिसूचकमा पहिरो गएको देखिएको छ । यो दिन बजारमा ४८ करोड ३९ लाख बढीको कारोबार भएको छ । 

यो दिन बजारका व्यापार, बिमा, माइक्रोफाइनान्स र जलविद्युत समूहमा भीषण पहिरो गयो । व्यापार समूह ७.४७ प्रतिशतले घट्यो भने बिमा समूहमा २८६.२ अंक(४.२९) प्रतिशतको गिरावट देखियो । बैकिङ समूह ३५.४२ अंक, माइक्रोफाइनान्स समूह ५९.०१ अंक, विकास बैंक समूह ४१.४५ अंक, होटल समूह ३५.८२ अंकले घटे । यस्तै, बित्त समूह ११.२१ अंकले घट्यो भने उत्पादनमूलक ५३.२ अंक र अन्य समूह १३.९२ अंकले घट्यो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा भीषण पहिरो जाँदा सेन्सेटिभ इण्डेक्स ८.५८ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ३.१ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५१ कम्पनीका १३ लाख ११ हजार ९ सय ४८ कित्ता सेयर ४८ करोड ३९ लाख ६७ हजार ५ सय ६ रुपैयाँमा कारोबार भयो । यो दिन नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ३९ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल बैंकले २ करोड ७२ लाख बढीको कारोबार गरेको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८४ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । सानिमा बैंकले १ करोड ७८ लाख, एभरेष्ट बैंकले १ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ५६ लाख बढीको कारोबार गरे । यस्तै, राष्टिय बिमा कम्पनीको १ करोड ५३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नवील बैंकले १ करोड ३९ लाख, कुमारी बैंकले १ करोड ३८ लाख र ग्लोबल आइएमई बैंकले १ करोड ३१ लाख बढीको कारोबार गरे ।  

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा दुुई कम्पनीले मात्र कमाउन सके । सूर्योदय लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त बित्तीय संस्थाले मात्र कमाए । सूर्योदयको सेयर मूल्य ३.९३ प्रतिशत र स्वदेशीको सेयर मूल्य १.८६ प्रतिशतले वृद्धि भयो । 

यो दिन हिमालयन डिस्टीलरीले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो । यस्तै, विशाल बजार कम्पनीको मूल्य समेत १० प्रतिशतकै हाराहारीमा घट्यो । गुराँस लाइफ इन्स्योरेन्स, समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र स्वरोजगार लघुवित्त विकास बैंकले ८ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाए ।