काठमाण्डौ । सेयर बजारमा मंगलबार खरीद चाप बढेको छ । राम्रा कम्पनीहरुको सेयर निरन्तरको बजार गिरावटका कारण घटेर निकै तल्लो विन्दूमा आएपछि लगानीकर्ताहरुले सुस्तरी सुस्तरी खरिदारी बढाउन खोजेका देखिएको छ । सस्तोमा राम्रो कम्पनीको सेयर खरीद गर्ने बढेकै कारण बजारमा थोरै अंकको भए पनि बढोत्तरी देखिएको छ । 

नेप्से परिसूचकमा बढोत्तरी हुँदा कारोबार रकम भने घटेको छ । यसले बजारमा बिक्री गर्ने भन्दा खरीद गर्नेहरु बढी रहेका देखाउँछ । तर, बजारको सुखद भविष्यका लागि कारोबार कम भएर रकम(टर्नओभर) घट्नुुले राम्रो संकेत गर्दैन । 

मंगलबार नेप्से परिसूचकमा ६.०४ अंकको सुधार देखियो । नेप्से परिसूचक ११९९ मा फर्किएको यो दिन बित्त समूह बाहेकका अन्य सबै समूह हराभरा भए । बित्त समूह १.६१ अंकले घट्यो । 

यो दिन बैकिङ समूह ३.३९ अंकले बढ्यो भने व्यापार, होटल, जलविद्युत समूहमा क्रमशः २.७, १२.९९ र १३.३८ अंकको बढोत्तरी देखियो । यस्तै, बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूह क्रमशः २५.२८, ११.१८ र २.१४ अंकले बढे । ६३.०७ अंकले उत्पादनमूलक समूह बढेको बजारमा अन्य समूहमा ५.८१ अंकको बढोत्तरी देखियो । 

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.९८ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३५ अंकको वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ६ लाख ६६ हजार ५ सय ९६ कित्ता सेयर २१ करोड ८१ लख ६६ हजार ३ सय १६ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी नागरिक लगानीकोषले कारोबार गरेको छ । यो कम्पनीले १ करोड २५ लाख बढीको कारोबार गरेको हो । 

यस्तै, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ६ लाख, नवील बैंकले १ करोड ५ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ३ लाख, एभरेष्ट बैंकले ७२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ७२ लाख, ग्लोबल आइएमई बैंकले ६७ लाख, चिलिमे हाइडोले ६१ लाख, सानिमा बैंकले ५२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो । समता माइक्रोफाइनान्सका सेयरधनीले ५ प्रतिशतको हाराहारीमा कमाए ।

यो दिन वरुण हाइड्रोका सेयरधनीले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो । अरुण हाइड्रोका लगानीकर्ताले ५.१६ प्रतिशतले सम्पत्ति गुमाए ।