काठमाण्डौ । बजार सुधारका लागि अर्थमन्त्रालय, राष्ट्रबैंक, लगानीकर्तासँग सम्बन्धित संघ–संस्थाले थालेका प्रयास र स्वदेशी बैंकहरुले विदेशी ऋण ल्याउन पाउने व्यवस्थापछि तरलता सहज हुने आँकलन तथा तेश्रो त्रैमाससँगै सरकारको पूँजीगत खर्च बढ्न थालेको संकेत र सस्तोमा राम्रो कम्पनीको सेयर किन्न पाउने मौका, लगायतका कारणले बुधबार बजारमा दोहोरो अंकको उछाल आएको छ । 

बजारको साँढेले बुर्कुसी मार्दा लघुवित्त कम्पनीहरु अन्य समूहको तुलनामा धेरै चम्किएका छन् । 

निरन्तर घटिरहेको बजारमा यो दिन २७.४५ अंकको उछाल देखिएको हो । नेप्से परिसूचक बढेर १२२६.४५ को विन्दूमा फर्किदा सबै समूहमा चमक देखिएको छ । 

लगानीकर्ताहरुले ‘क’ वर्गका कम्पनीका सेयरमा खरिदारी बढाएपछि सेन्सेटिभ इण्डेक्स ५.६१ प्रतिशतले बढेको छ । 

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि भारी वृद्धि भएका कारण बजारका लगानीकर्ता उत्साहित बनेका छन् । किनभने परिसूचक र कारोबार रकम एकसाथ बढ्नु भविष्यका लागि राम्रो संकेत हो । यसले बजारमा खरीदको चाप बढेको र बजार भविष्यमा समेत अझै बढ्नसक्ने संकेत गर्ने विश्लेषक बताउँछन् । तर, यो प्रवृति एकदिन मात्र नभई, केही दिन निरन्तर भए मात्र भविष्यमा बजारले उछालका अन्य आयामहरु समेत ल्याउने विश्लेषण गरिन्छ । 

यो दिन माइक्रोफाइनान्स समूहको सूचकमा झण्डै ५ प्रतिशतको बढोत्तरी देखिएको छ । यो समूह ६३.०६ अंकले बढ्यो । बिमा समूहमा पनि करिब ४ प्रतिशत(२०८.३४ अंक)को वृद्धि देखियो । होटल, विकास बैंक र जलविद्युत समूहमा ३ प्रतिशतको हाराहारीमा बढोत्तरी देखियो । विकास बैंक समूह ३९.०३, जलविद्युत समूह ३६.३१, होटल समूह ४५.७७ अंकले बढे । यस्तै, यो दिन बैकिङ समूह १९.३१ अंकले बढ्यो भने बित्त समूह ७.४४, उत्पादनमूलक २४.४ अंक तथा अन्य समूह १०.८१ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उछालको गतिमा बढेको छ । बजारमा १ सय ६२ कम्पनीका ९ लाख २ हजार ७ सय ५० कित्ता सेयर ३३ करोड ६४ लाख ४३ हजार ४ सय ३१ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नवील बैंकले १ करोड ६२ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल इन्स्योरेन्सले १ करोड ३७ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड २६ लाख, सानिमा बैंकले १ करोड २३ लाख, नागरिक लगानीकोषले १ करोड ३ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड, ग्लोबल आइएमई बैंकले ९८ लाख, नेपाल एसबीआई बैंकले ८७ लाख, एनसीसी बैंकले ८३ लाख र एभरेष्ट बैंकले ७२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ९ कम्पनीले मात्र गुमाए । बाँकी १ सय ५३ कम्पनीका लगानीकर्ताले कमाए । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले सम्पत्ति बढाए ।

एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ९.५९ प्रतिशतले वृद्धि भयो । महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाको मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो भने नागबेली लघुवित्त विकास बैंक, ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । साना किसान विकास बैंकको मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १.९१ प्रतिशतले घट्यो ।