काठमाण्डौ । मंगलबारको सेयर बजारमा माइक्रोफाइनान्स कम्पनी चम्किएका छन् । यो कम्पनीको समूह सूचकमा ८ प्रतिशतको हाराहारीमा उछाल आउँदा समग्र नेप्से परिसूचक नै उछालको गतिमा दौडिएको छ । 

यो दिन नेप्से परिसूचक ३३.६१ अंकले बढी १३३१.१८ को विन्दूमा फर्किएको छ । यो दिन बिमा, होटल र अन्य समूहको सूचकमा पनि उछालकै अवस्था देखियो । 

माइक्रोफाइनान्स समूहको सूचक १२०.११ अंकले बढ्यो भने बिमा र होटल समूहको सूचकमा ३६०.४३ र ८६.०१ अंकको उछाल देखियो । अन्य समूहको सूचकमा २१.९९(३.०६ प्रतिशत)को बढोत्तरी भयो । 

यस्तै, यो दिन बैकिङ समूह १२.२ अंकले बढ्यो । जलविद्युत समूह ४०.८२ अंक, बित्त समूह ८.९४ अंक, उत्पादनमूलक ५५ अंकले बढ्यो भने व्यापार समूह ५.५७ अंकले घट्यो। 

‘क’ वर्गका कम्पनीको कारोबार चम्किँदा सेन्सेटिभ इण्डेक्स समेत ६.३२ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा यो दिन २.३८ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार बजारमा १६६कम्पनीका १८ लाख ९५ हजार ५ सय ६ कित्ता सेयर ९५ करोड ४० लाख ६ हजार ५ सय ४ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्सले ६ करोडको हाराहारीमा कारोबार गर्यो । यो दिन नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ९ लाख, कुमारी बैंकले ३ करोड ३ लाख, नागरिक लगानीकोषले २ करोड ७२ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले २ करोड ३५ लाख, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले २ करोड २८ लाख बढीको कारोबार गरे । यस्तै, प्रिमियर इन्स्योरेन्सले २ करोड २५ लाख, नेशनल लाइफ इन्स्योरेन्सले २ करोड १६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड १२ लाख र नेको इन्स्योरेन्सले २ करोड ११ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन २२ वटा कम्पनीले पैसा छापे । ९ प्रतिशतदेखि १० प्रतिशतसम्म मूल्य बढ्ने २२ कम्पनीमध्ये अधिकांश माइक्रोफाइनान्स कम्पनी रहेका छन् । 

यो दिन महिला सहयात्रा माइक्रोफाइनान्स र प्रूडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर, ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्था, नयाँ  नेपाल लघुवित्त, नेपाल इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक, आरएसडिसी लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यसैगरी, जलविद्युत लगानी तथा विकास कम्पनी, आरएमडिसी लघुवित्त, वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । लक्ष्मी लघुवित्त बित्तीय संस्था, लुम्बिनी विकास बैंक, ओमी माइक्रोफाइनान्स र ओरिएन्टल होटल लिमीटेडको मूल्य पनि ९ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन सहयोगी विकास बैंक लिमीटेडको मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीका लगानीकर्ताले ५ प्रतिशतको हाराहारीमा गुमाए ।