काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.०५ अंकले घटी १३१८.२२ को विन्दूमा सीमित हुन पुगेको हो ।

अधिकांश लगानीकर्ता बजेटको प्रतिक्षामा बस्दा बजारमा वृद्धिको यात्रा रोकिएको हो । सरकारले नीति तथा कार्यक्रममा उल्लेख पूँजीबजारलाई गतिशील बनाउने कुरालाई बजेटमा कुन रुपमा समेट्छ भन्ने आम लगानीकर्ताको प्रतिक्षाको बिषय रहेको छ । सेयर कारोबार वा ब्रोकर कमिसनमा भ्याटको कुरा, त्यस्तो भ्याट कोबाट असूल्ने भन्नेजस्ता अन्यौलले समेत बजार वृद्धिमा असहयोग गरिरहेको देखिएको छ । 

बजेटको प्रतिक्षाबाट प्रभावित बजारमा बिहीबारका दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.१३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७९ अंकको गिरावट आयो ।

यो दिन व्यापार र उत्पादनमूलक बाहेक सबै समूहको सूचकमा रातो पोतियो । 

बैंकिंग समूह ७.४६ अंकले घट्यो भने होटल समूह ४.९३ अंक, विकास बैंक समूह १४.५३ अंक, जलविद्युत समूह १२.७१ अंक, बित्त समूह ०.६३ अंक, बिमा समूह ६२.३४ अंक, माइक्रोफाइनान्स समूह ३३.९८ अंक तथा अन्य समूह ४.७७ अंकले घटे । 

यो दिन उत्पादनमूलक समूहमा ११.४१ अंकको बढोत्तरी भयो भने व्यापार समूहमा २.९६ अंकको वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६१ कम्पनीका ७ लाख ९१ ह्जार ७ सय २८ कित्ता सेयर ३७ करोड ३५ लाख ६२ हजार १ सय ४१ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी कालिमा माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले २ करोड ३३ लाख बढीको कारोबार गर्यो । नेपाल बैंकले २ करोड ५ लाख, प्रभू इन्स्योरेन्सले १ करोड २९ लाख, स्वदेशी लघुवित्तले १ करोड २८ लाख, स्वरोजगार लघुवित्तले १ करोड ११ लाख, नागबेली लघुवित्तले १ करोड ११ लाख, एनआइसी एशियाले ८८ लाख, एभरेष्ट बैंकले ७७ लाख, ग्लोबल आइएमई बैंकले पनि ७७ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन जेबिल्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ५.४५ प्रतिशतले वृद्धि भयो । यस्तै, सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको मूल्य ५ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।