काठमाण्डौ । अर्थतन्त्र बुझेका अर्थमन्त्री डा. युवराज खतिवडाले आज अपरान्ह संघीय संसदका दुवै सदनमा प्रस्तुत गर्ने बजेटमा पूँजीबजारको सुधारका लागि आवश्यक कार्यक्रम समेट्ने धेरै हल्ला र थोरै आशाका कारण सोमबार एकाएक सक्रियता बढाएका लगानीकर्ता २४ घण्टा नबित्दै सेलाएका छन् । 

सोमबार केही ब्रोकरमार्फत नियोजित रुपमा सेयर कारोबार भ्याट नलाग्ने नीति सरकारले ल्याउने हल्ला चलाइएको थियो । त्यसको प्रभाव लगानीकर्तामा समेत परेको थियो । 

बजारमा रहेको सेयरको अधिक आपूर्ति उठाउनका साटो म्युचुअल फण्डहरुले मुद्धतीमा निक्षेप राख्न थालेका र यसले समेत बजारलाई गतिशील बनाउन नसकेको विश्लेषणसहित त्यस्ता फण्डहरुको लगानीमा कडाई गरिने नीति आउने हल्लाले समेत काम गरेको थियो । यस्तो हल्लाको पछाडि लागेर केही म्युचुअल फण्ड संचालक मर्चेन्ट बैंकहरुले समेत सेयर खरिदारी बढाएका थिए । 

सोमबार हल्लै हल्लामा बढेको बजार मंगलबार भने घटेको छ । मंगलबार बजारको गिरावट हुनुमा बजेटको व्यग्र प्रतिक्षा एउटा कारण हो भने अर्को कारण सोमबारको भन्दा ठीक उल्टो गरी चलेको हल्ला हो । यसरी हेर्दा लगानीकर्ता अझै पनि हल्लै हल्लाको भरमा सेयर किन्ने र बिक्रीको निर्णय लिन्छन् भन्ने देखिन्छ । विश्वासिलो माध्यमबाट नआएका हल्लाबाट समेत बजार कसरी प्रभावित हुन्छ र लगानीकर्ता कसरी सेन्टिमेन्टमा बहकिन्छन् भन्ने कुरा समेत सोमबार र मंगलबारको उनीहरुको  प्रवृतिले देखाएको छ । 

समग्रमा हल्ला र बजेट सार्वजनिक भएपछि मात्र खरीद वा बिक्रीको निर्णय लिने रणनीतिसहित लगानीकर्ता बस्दा मंगलबार नेप्से परिसूचकमा ९.१८ अंकको गिरावट देखियो । यो दिन बिमा समूहमा झिनो बढोत्तरीबाहेक अन्य सबै समूहको सूचकमा रातो पोतियो । 

बैंकिंग समूह १०.५ अंकले घट्यो भने विकास बैंक समूह १४.२१ अंक, जलविद्युत समूह १३.३३ अंक, उत्पादनमूलक २०.६ अंक र माइक्रोफाइनान्स समूह १५.४८ अंकले घटे । यस्तै, होटल समूह ३३.१८ अंक र अन्य समूह १.४६ अंकले घट्यो । 

यो दिन 'क' वर्गका कम्पनीहरुमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.०२ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७३ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका ८ लाख ४० हजार १ सय ७५ कित्ता सेयर ४१ करोड ७४ लाख ३६ हजार ९ सय ६८ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी एनएमबी बैंकले ३ करोड २ लाख बढीको कारोबार गरेको छ । प्रिमियर इन्स्योरेन्सले १ करोड ७९ लाख, प्रूडेन्सियल इन्स्योरेन्सले १ करोड ५३ लाख, एभरेष्ट बैंकले १ करोड ५२ लाख, सानिमा हाइड्रोले १ करोड २२ लाख, प्रभू इन्स्योरेन्सले १ करोड १८ लाख, शिखर इन्स्योरेन्सले १ करोड १७ लाख बढीको कारोबार गरे । राष्ट्रिय बिमा कम्पनीको १ करोड ९ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा यूनाइटेड इन्स्योरेन्सले ९१ लाख र नेको इन्स्योरेन्सले ८६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ९.१० प्रतिशतले वृद्धि भयो । यस्तै, समता माइक्रोफाइनान्सको सेयर मूल्य समेत ७.०२  प्रतिशतले बढ्यो । 

यो दिन पनि सबैभन्दा धेरै मेगा बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । ५०० दिनको ग्यापपछि प्रतिकित्ता ३११ रुपैयाँमा कारोबार भएको मेगा बैंकको मूल्य मंगलबार बजार बन्द हुँदासम्म घटेर २५३ रुपैयाँमा आइपुगेको छ ।