काठमाण्डौ । बजारमा लगातार बियरिस ट्रेण्ड  देखिएको छ । प्रत्येक दिनजसो घटिरहेको बजार मंगलबार १५.२९ अंकले घटी ११९४.८० को विन्दूमा समेटिन पुगेको छ । 

नेप्से परिसूचक घटेर करिब तीन महिनाअघिकै न्यून विन्दूमा झरे पनि कारोबार रकम भने केही बढेर २३ करोड माथि पुगेको छ । 

यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा लगानीकर्ता रहेका छन् । निरन्तर घट्दो बजारमा करको अन्यौल समाधान हुन सकेको छैन भने अर्कोतर्फ बजार निरन्तर घट्दै जाँदा लगानीकर्तामा बैंकहरुको मार्जिन कलको आतंक छाएको छ । यसले समेत लगानीकर्ताहरुलाई नचाहदा नचाहदै सेयर सस्तोमै बेचेर सेयर धितोकर्जा चुक्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्ला केही दिन मार्जिन कलकै आतंकका कारण सेयर बिक्रीको चाप बढेको लगानीकर्ता दाबी गर्छन् । 

मंगलबार ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप ह्वात्तै बढेको देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ३.११ अंकले घटेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.१२ अंकले घटेको छ । 

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतिएको छ । बैंकिंग समूह १२.७३ अंकले घटेको छ भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ७८.०७, १४.७२ र ३२.१७ अंकको गिरावट देखिएको छ । यस्तै, होटल समूह ५२.०२, जलविद्युत समूह ११.०८, बित्त समूह ५.२८, उत्पादनमूलक ५०.९३ र अन्य समूह ५.३१ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ६ लाख २१ हजार ७ सय ९६ कित्ता सेयर २३ करोड १० लाख ३ हजार ५ सय ७२ रुपैयाँमा कारोबार भएको छ । 

सबैभन्दा बढी नवील बैंकको १ करोड ३१ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बंैकले १ करोड ६ लाख, कुमारी बैंकले ७१ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६८ लाख, मेगा बैंकले ६७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ६३ लाख, सानिमा बैंकले ५९ लाख, एनआइसी एशिया बैंकले ५६ लाख, नेको इन्स्योरेन्सले ४९ लाख, नेपाल एसबीआई बैंकले ४६ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार ९ कम्पनीका लगानीकर्ताले मात्र कमाए । बाँकी १ सय ५१ कम्पनीका लगानीकर्ताले गुमाउन पुगे । 

यो दिन आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४.७९ प्रतिशतले बढ्यो ।

यस्तै, सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ७.३७ प्रतिशतले घट्यो ।