काठमाण्डौ । सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.७३ अंकले घटेको यो दिन कारोबार रकम पनि घटेर २१ करोडमा सीमित भएको छ । 

लगानीकर्ताको मनोबल उकास्ने भरपर्दा प्रयासहरु हुन नसकेपछि र मौद्रिक नीतिले समेत लगानीकर्ताहरुमा उत्साह भर्न नसकेपछि बजार लगातार घटिरहेको छ । मौद्रिक नीतिले सेयर बजार उकास्न गरेका कतिपय राम्रा व्यवस्थाहरुको समेत अपव्याख्या गरी यही बेला बजारमा चलखेल गर्ने समूहहरुको समेत सक्रियता बढेको छ । बजारलाई न्यून विन्दूमा झारेर सस्तो मूल्यमा सेयर उठाउने कतिपय ठूला लगानीकर्ताको प्रयासले समेत बजार गिर्ने क्रम जारी रहेको कतिपयको दाबी छ । 

त्यसो त पछिल्लो समय लगानीकर्तालाई पूँजीगत लाभकरको भार थपिएको छ भने हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर लाग्ने व्यवस्था स्थगन मात्र भई त्यो समस्याको पूर्ण समाधान हुन समेत सकेको छैन । अर्थमन्त्रालयले एक अध्ययन समिति बनाए पनि त्यसले प्रतिवेदन बुझाउने र त्यसको आधारमा सो मुद्धाको निकासा निकाल्ने बिषयमा ढिलासुस्ती गरिएको छ । यहीकारण समेत लगानीकर्तामा करको त्रास समेत अझै रहेको देखिन्छ । 

तरलता प्रशस्त भए पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर अपेक्षित रुपमा घट्न सकेको छैन । यसले समेत मार्जिन प्रकृतिको कर्जा लिएर सेयरमा लगानी गर्नेहरु प्रोत्साहित हुन सकेका छैनन् । 

यिनै कारणले साताको पहिलो कारोबार दिन आइतबार पनि बजारमा निराशा छाएको हो । ‘क’ वर्गका कम्पनीहरुमा उच्च बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.५६ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९१ अंकको गिरावट देखिएको छ । 

यो दिन बित्त समूह ३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा रातो पोतिएको छ । माइक्रोफाइनान्स, होटल, जीवनबिमा र निर्जीवन बिमा समूहमा पहिरो गएको छ । माइक्रोफाइनान्स समूह ३२.९३ अंकले घट्यो भने होटल समूहमा ३४.५७ अंकको गिरावट देखियो । यस्तै, जीवन बिमा समूहको उपसूचक ७०.२८ अंकले घटेको छ भने निर्जीवन बिमाको उपसूचक ११०.६ अंकले घटेको छ । 

यो दिन बैंकिङ समूह ७.६६ अंक, विकास बैंक समूह १३.४२, जलविद्युत समूह १३.७७, उत्पादनमूलक ३.४१ र अन्य समूह ६.७१ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ६ लाख ६१ हजार २ सय ४६ कित्ता सेयर २१ करोड १२ लाख  १३ हजार ८ सय २८ रुपैयाँमा किनबेच भएको छ । यो दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सबैभन्दा बढी १ करोड ४ लाख बराबरको कारोबार गर्यो । यस्तै, नयाँ नेपाल लघुवित्त विकास बैंकले ९० लाख, सिटिजन्स बैंकले ७२ लाख, साना किसान विकास बैंकले ६५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५६ लाख, नवील बैंकले ५५ लाख बढीको कारोबार गरे । नवील बैंकको ५४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा इन्भेष्टमेन्ट
बैंकको पनि ५३ लाखको संस्थापक सेयरको कारोबार भयो।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.४७ प्रतिशतले बढ्यो । जानकारी फाइनान्सको सेयर मूल्यमा करिब ६ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । यूनाइटेड इन्स्योरेन्सको मूल्यमा ४.२३ प्रतिशतको गिरावट देखियो ।