काठमाण्डौ । दोहोरो अंकले बढेको बजार अन्तिम अवस्थामा आएर केही घटी ४.७७ अंकको बढोत्तरीको साथ बन्द भएको छ । मंगलबार १२०० माथि पुगेको नेप्से परिसूचक पुनः घटेर ११९९.२७ अंकमा सीमित भई बन्द हुन पुगेको हो । 

नेप्से परिसूचकमा बढोत्तरीसँगै सोमबारको तुलनामा कारोबार रकम पनि बढेको छ । यो दिन २९ करोड माथिको सेयर किनबेच भएको छ । 

बैंक तथा बित्तीय संस्थाहरुले धमाधम ब्याजदर घटाउन थालेपछि यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । यस्तै, बजार घटेर न्यून विन्दूमा झरेको बेला राम्रा कम्पनीको सेयर समेत सस्तोमै पाउन थालिएको यो अवसरको सदुपयोगतर्फ लगानीकर्ता लाग्दा समेत बजारमा खरीदचाप बढेको देखिएको छ । 

नेप्से परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढ्दा भविष्यमा बजार अझ मजबुत बन्नसक्ने संभावना रहन्छ । तर, यस्तो प्रवृति एक दिन मात्र होइन, केही दिन निरन्तर देखिए मात्र यसरी विश्लेषण गर्न सकिन्छ । समग्रमा बजारमा सामान्य सुधार भए पनि कारोबार रकमको भरथेग केही मजबुत बन्दै जानु सुखद पक्ष हो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स १.३६ अंकले बढेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३२ अंकको बढोत्तरी भएको छ । 

यो दिन उत्पादनमूलक समूह १९.७४ अंकले तथा माइक्रोफाइनान्स समूह ०.७ अंकले घटेको छ भने बाँकी सबै समूहको सूचकमा बढोत्तरी भएको छ । 

सबैभन्दा बढी होटल समूहको सूचक ४९.४१ अंक(२.७९ प्रतिशत)ले वृद्धि भएको छ । यस्तै, बैंकिङ समूह ५.२५ अंक, विकास बैंक समूह २.८५ अंक, जीवन बिमा समूह २०.६१ अंक, निर्जीवन बिमा समूह १९.८९ अंक, जलविद्युत समूह ३.२४ अंक, बित्त समूह २.५९ अंक तथा व्यापार समूह ०.४२ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ११ लाख ८९ हजार ६ सय ८९ कित्ता सेयर २९ करोड ४१ लाख ८२ हजार ३ सय ४८ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नवील बैंकले १ करोड ८८ लाख बढीको कारोबार गर्यो । नेपाल टेलिकमले १ करोड ७१ लाख, नेपाल बैंकले १ करोड २१ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड १९ लाख बढीको कारोबार गरे । 

सानिमा बैंकले ७३ लाख, मेगा बैंकले ७० लाख, नेपाल इन्स्योरेन्स कम्पनीले ६३ लाख, सिभिल बैंकले ६० लाख, एनएमबी बैंकले ५९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा दुई कम्पनीका लगानीकर्ताले पैसा छापे । नयाँ नेपाल लघुवित्त विकास बैंक र भार्गव विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाए । गोर्खाज फाइनान्सको मूल्य ७.५५ प्रतिशतले वृद्धि भयो । 

यो दिन बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो । यस्तै, प्रोग्रेसिभ फाइनान्सको मूल्य पनि १० प्रतिशतकै हाराहारी घट्यो ।