काठमाण्डौ । सेयर बजारको गिरावट निरन्तर भएपछि लगानीकर्ताहरुमा फेरि मार्जिन कलको त्रास सुरु भएको छ । मौद्रिक नीतिले सेयरको मूल्य २० प्रतिशतसम्म घटेपछि मात्र मार्जिन कल गर्न पाउने व्यवस्था गरेपछि लगानीकर्ता केही ढुक्क देखिएका थिए । तर, मौद्रिक नीतिपछि पनि बजार लगातार घटिरहेको छ र धितोमा राखिएका सेयरको मूल्य २० प्रतिशतसम्म घटेपछि आफूहरुमा बैंक तथा बित्तीय संस्थाहरुले मार्जिन कलको त्रास फैलाएका पीडित लगानीकर्ताले आरोप लगाएका छन् । 

बजार लगातार घटेपछि लगानीकर्ताहरुले सेयर बिक्री गरेर ऋण तिर्ने हतारो गरिरहेका छन् । जसको परिणाम स्वरुप बजारमा उच्च बिक्री चाप देखिएको छ । यहीकारण बिहीबारको बजार पनि घटेको हो । यो दिन नेप्से परिसूचक  ३.१५ अंकले घटेर ११९१.२० को विन्दूमा समेटिएको हो । 

यो दिन बुधबारको तुलनामा कारोबार रकम केही बढी १९ करोड ३० लाख कायम भएको छ । 

मौद्रिक नीतिले व्यक्तिगत ओभरड्राफटको कर्जाको सीमा ७५ लाखबाट घटाएर ५० लाखमा झारिदिएपछि यसले समेत बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरु दाबी गर्छन् । व्यक्तिगत ओडी लिएर सेयर बजारमा लगानी गर्नेहरुको संख्या निकै ठूलो छ । तिनीहरुलाई पुरानो व्यवस्था अनुसार ७५ लाख रुपैयाँ लिइएको ऋणलाई समेत पुस मसान्तसम्म घटाएर ५० लाखमा झार्नुपर्ने निर्देशन दिइएपछि थपिएको मासिक किस्ताको भारले समेत लगानीकर्तामा थप लगानी गर्नसक्ने(सेयर किन्नसक्ने) क्षमता नरहेको बजार अनुगमनको क्रममा देखिएको छ । लगानीका लागि थप पैसा नभएको, ओडीको सीमा घटाउनुपर्दा थप रकम आवश्यकता परेको र यही बेला मार्जिन कल समेत आउन थालेपछि सेयर बेचेर बजारबाट बाहिर निस्किने लगानीकर्ताको संख्या समेत दिनहुँ बढिरहेको ब्रोकर कम्पनीका कर्मचारीहरु बताउँछन् । 

एकातिर लगानीकर्तामा लोनको थामिनसक्ने भारीले आक्रान्त बनाएको छ भने अर्कोतिर बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि ब्याजदर घट्न सकेको छैन । ब्याजदर निकै घटेर सस्तो लोन लिन पाइएला भनेर पर्खिबसेका लगानीकर्ता समेत यो घटनाक्रमबाट हतोत्साही देखिएका छन् । यसले समेत बजार घटाउन थप सहयोग गरिरहेको जानकार बताउँछन् । 

यही बेला म्युचुअल फण्डहरुले समेत कानूनविपरीत मुद्धतीका स्किममा पैसा राखेर बसी बसी ब्याज खाने बाटो रोज्दा दोश्रो बजारमा खरीद चाप न्यून देखिएको छ । 

यिनै कारणले साताको अन्तिम कारोबार दिन बिहीबार ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएर सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.२९ अंकको गिरावट देखिएको छ । 

यो दिन होटल समूहमा ४४.५४ अंकको बढोत्तरी देखिएको छ भने बाँकी सबै समूहको उपसूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह १.४४ अंकले घटेको यो दिन विकास बैंक समूह १.९८ अंक, जलविद्युत समूह १४.७९ अंक, बित्त समूह २.६८ अंक, निर्जीवन बिमा समूह २७.१७ अंक, अन्य समूह ०.५६ अंक, माइक्रोफाइनान्स समूह १५.१६ अंक र जीवन बिमा समूह ४९.०८ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ७ लाख ९२ हजार ५५ कित्ता सेयर १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नवील बैंकले १ करोड १९ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले ८३ लाख बढीको कारोबार गरेको यो दिन फरवार्ड माइक्रोफाइनान्सको ७२ लाख बढीको सेयर किनबेच भयो । नेपाल इन्भेष्टमेन्ट बैंकको ७१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनएमबी बैंकले ५२ लाख, सानिमा बैंकले ५१ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीले ४६ लाख, मेगा बैंकले ४५ लाख, देवः विकास बैंकले ४१ लाख र नेपाल बैंकले ३८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.२९ प्रतिशतले बढ्यो । आरम्भ माइक्रोफाइनान्सको मूल्यमा समेत ५ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

यो दिन कन्काई विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.५४ प्रतिशतको हाराहारीमा घट्यो ।