काठमाण्डौ । लामो समयदेखिको बजारको डाउनट्रेण्ड अन्त हुने केही विश्लेषकहरुको लगातारको दाबीलाई पुष्टि हुने गरी बजार दैनिकजसो बढिरहेपछि लगानीकर्ता एकाएक उत्साहित देखिएका छन् । अब बजारमा वृद्धिको यात्रा सुरु हुन्छ भन्ने तर्कमा सहमत लगानीकर्ताहरु एकाएक बढेपछि बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको उछाल देखिएको छ । 

मंगलबारदेखि नै ब्रोकरको अफिसमा लगानीकर्ताको उपस्थिति केही बाक्लिन थालेको थियो । यही क्रममा बुधबार भने बजार खुलेदेखि नै उत्साहित मुद्रामा भेटिएका लगानीकर्ताले ब्रोकर अफिस खचाखच भरिएका थिए । 

बिजशाला संवाददाताहरुका अनुसार अघिल्लो सातासम्म सुनसान हुने ब्रोकर अफिसमा समेत लगानीकर्तालाई बस्ने ठाउँ नपुगेर ढोकैसम्म पनि उभिएर बजारको गतिविधि नियालिरहेका देखिन्थे । यो दृश्यले बजारमा जनसहभागिता बढ्दै गएको पुष्टि हुने विश्लेषकहरु बताउँछन् । बजारमा सामान्य लगानीकर्ताको सहभागिता बढ्दै जानुलाई कतिपय विश्लेषकहरुले बुलिस यात्राको प्रारम्भिक विन्दूको रुपमा समेत विश्लेषण गर्ने गर्छन् । सहभागिता यसैगरी बढ्दै गए बजार अझ बलियो हुने र वृद्धिको यात्रा निरन्तर हुने जानकारहरुको भनाई छ ।  

सेयर बजारका प्राविधिक विश्लेषक धनकुमार राईले लगानीकर्ताको उत्साह बलियो बन्दै गएकोले बजार बढेको बताए । उनले केही दिनदेखि नै लगातार बजारको प्राविधिक विश्लेषण गरी तथ्यसहित बजार बढ्ने दिशातर्फ उन्मुख हुँदै गएको बताउँदै आएका छन्।

यही क्रममा बजार बढ्ने देखेर केही गिरोहहरुले घटाउने प्रयास पनि नगरेका होइनन् । तर, उनीहरुको चलखेलको पर्दाफास भएसँगै पछिल्लो समय नियामक निकायका अधिकारीले समेत त्यस्ता गिरोहहरुमाथि निगरानी बढाएका छन् । 

यस्तै, बजार घटाउने प्रमुख कारण मानिएको बैंकहरुको ब्याजदर समेत क्रमशः घट्न थालेको छ । ब्याजदर नघटाउनेहरुविरुद्ध गभर्नर डा. चिरञ्जिवी नेपाल कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । यसले समेत अटेर गर्ने बैंकहरु बाध्य भई ब्याजदर घटाउनतर्फ लागेका छन् । यसले समेत लगानीकर्ताको उत्साहलाई मजबुत बनाउने काम गरेको देखिन्छ । 

अर्कोतर्फ, बुधबार केही वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । जहाँ प्राय सबैले उत्साहजनक प्रगति गरेका देखिएको छ । यसले समेत लगानीकर्तालाई उत्साहित बनाएको छ । जीवन तथा निर्जीवन बिमा कम्पनीहरुको प्रगति समेत उत्साहजनक नै रहेकोले संभावित लाभांशको लोभमा समेत बजारमा खरिदारी बढेको हुनसक्ने विश्लेषकहरु बताउँछन् । 

के-के भयो बुधबार ?
बुधबार नेप्से परिसूचक २८.७३ अंकले बढेर १२०९.७१ को विन्दूमा फर्किएको छ । नेप्से परिसूचकमा झै कारोबार रकम पनि ह्वात्तै बढेको छ । नेप्से परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढ्नुलाई बजारको भविष्यका लागि सुखद संकेत मानिन्छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा उच्च खरीद चाप देखियो, यहीकारण सेन्सेटिभ इण्डेक्स ५.९ अंकले वृद्धि भयो । समग्र कारोबार मापक फ्लोट इण्डेक्स २.१४ अंकले बढ्यो । 

यो दिन बजारका सबै समूहको परिसूचक हराभरा भएका छन् । बैंकिङ समूह २४.८६ अंकले बढ्यो भने होटल समूह २९.२६ अंक, विकास बैंक समूह ३६.८१ अंक, जलविद्युत समूह ३४.५३ अंक, बित्त समूह ९.२३ अंक, निर्जीवन बिमा समूह २०५.६४ अंक, जीवन बिमा समूह १२९.८२ अंक, माइक्रोफाइनान्स समूह ३५.२८ अंक, उत्पादनमूलक ३९.२३ अंक तथा अन्य समूह १४.८२ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका १० लाख ७९ हजार ६६ कित्ता सेयर ३६ करोड ४१ लाख ३३ हजार ९ सय ३५ रुपैयाँमा किनबेच भएको छ । मंगलबार १८ करोड भन्दा केही बढीको मात्र कारोबार भएको थियो । 

खूद नाफा ४ अर्ब बढी आर्जन भएको उत्साहप्रद वित्तीय विवरण पस्किएको नवील बैंकले सबैभन्दा बढी १ करोड ६४ लाख बढीको कारोबार गर्यो । प्राइम कमर्सियल बैंकको १ करोड ६० लाख तथा नवील बैंककै १ करोड ५९ लाख बढीको संस्थापक सेयरको समेत यो दिन कारोबार भयो । 

राम्रो प्रगति निकालेको कृषि विकास बैंकले १ करोड २६ लाख बढीको कारोबार गरेको बजारमा ग्लोबल आइएमई बैंकले १ करोड २४ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड १५ लाख, प्राइम कमर्सियल बैंकले १ करोड १४ लाख, नेपाल बैंकले १ करोड १ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.६६ प्रतिशतले वृद्धि भयो । हिमालयन डिस्टीलरीका लगानीकर्ताले ८ प्रतिशतको हाराहारीमा कमाए भने तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा ७.३१ प्रतिशतको वृद्धि भयो । 

गत आर्थिक  वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको वोमी माइक्रोफाइनान्सलाई भने लगानीकर्ताले रुचाएनन् ।

सामान्यतया लगानीकर्ता बोनस सेयरको पक्षमा हुन्छन् । तर, वोमीले नगद लाभांशमा जोड दिएपछि यो कम्पनीको सेयरमा बिक्री चाप बढेर सर्किट ब्रेक नै लागेको थियो ।