काठमाण्डौ । निरन्तर घटिरहेको बजार बिहीबार ९.३९ अंकले बढेर ११८१.६९ को विन्दूमा पुगेको छ । यो साताको अधिकांश समय घटेको बजारको बिहीबारको वृद्धिलाई विश्लेषकहरुले मार्केट करेक्सनको रुपमा लिएका छन् । लगानीकर्ताहरुले तल्लो बिन्दूलाई नरुचाएको रुपमा बिहीबारको बजार प्रदर्शनलाई कतिपयले हेरेका छन् । 

यो दिन बजार परिसूचकसँगै कारोबार रकम पनि केही बढेको छ । बजारमा परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढ्नुलाई राम्रो संकेतको रुपमा लिइन्छ । तर, एकदिनको प्रदर्शनलाई मात्र आधार मानेर धेरै उत्साहित हुन सकिन्न । परिसूचक र टर्नओभर समानान्तर वृद्धिको यो प्रवृति केही दिनसम्म निरन्तर मात्र त्यसले बजार वृद्धिको उकालो यात्रामा निरन्तर चढ्नसक्ने विश्लेषण गरिन्छ । 

यो दिन बजारमा 'क' वर्गका कम्पनीमा खरीद चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स १.९८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.७६ अंकले बढेको छ । 

यो दिन होटल समूहमा २.३१ अंकको गिरावट आयो भने बाँकी सबै समूहको सूचकमा बढोत्तरी भयो । 

बैंकिंग समूह  ९.११ अंकले बढेको यो दिन विकास बैंक समूह ७.९१ अंक, जलविद्युत समूह ५.३१ अंक, बित्त समूह १.३२ अंक, निर्जीवन बिमा समूह ६२.४६ अंक, उत्पादनमूलक समूह ८.२६ अंक, अन्य समूह ६.२७ अंक, माइक्रोफाइनान्स समूह १४.०३ र जीवन बिमा समूह २६.२१ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका ६ लाख ९४ हजार ३ सय ७८ कित्ता सेयर २१ करोड ९ लाख ७३ हजार ३ सय ७२ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकले २ करोड ९ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६६ लाख बढीको कारोबार गरेको यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४८ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

एनएमबी बैैंकले ९७ लाख बढीको कारोबार गरेको यो दिन एनएलजी इन्स्योरेन्सले ९४ लाख बढीको कारोबार गर्यो । मेगा बैंकको ८३ लाख बढीको संस्थापक सेयरको कारोबार भएको यो दिन नेपाल बैंकले ५४ लाख, नवील बैंकले ४९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ४६ लाख र एनसीसी बैंकले ४५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नाडेप लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ८.८८ प्रतिशतले वृद्धि भयो । स्वदेशी लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ३.४१ प्रतिशतले घट्यो ।