काठमाण्डौ । साताको पहिलो दिन आइतबार बजारमा सकारात्मक संकेत देखिएको छ । यो दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । 

नेप्से परिसूचक ८.५९ अंकले बढेर ११९०.२८ विन्दूमा पुगेको छ भने कारोबार रकम भने बढेर ३० करोड माथि पुगेको छ । 

बजारमा कारोबार रकम र परिसूचक समानान्तर रुपमा बढ्नु बजारको सुखद भविष्यको संकेत हो । तर, यस्तो प्रवृति केही दिनसम्म निरन्तर रहे मात्र बजार वृद्धिको लयमा कुद्न थाल्छ भन्न सकिन्छ । 

बैंक तथा बित्तीय संस्थाका नेतृत्वकर्ताले बैंक ब्याजदर असोजदेखि घट्नसक्ने अभिव्यक्ति दिएको र राम्रा कम्पनीको सेयर समेत सस्तोमै खरीद गर्ने अवसर पाएपछि बजारमा खरिदारी बढेको हो । 

यो बेला म्युचुअल फण्डहरुले समेत बजारमा लगानी बढाउन थालेका छन् । यस्तै, लगानीकर्तासँग सम्बन्धित संघसंगठनले अर्थमन्त्री, राजश्वसचिव लगायतलाई भेटेर पूँजीगत लाभकरको अन्यौल चिर्न दवाब दिइरहेका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले समेत लगानीकर्तालाई पूँजीगत लाभकरको बिषय लगानीकर्ताको हित हुने गरी टुंग्याउने आश्वासनले समेत बजार बढाउन सहयोग गरेको विश्लेषकहरु बताउँछन् । अर्कोतर्फ बैंक तथा बित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने समय भएकोले समेत कतिपय लगानीकर्ताले खरिदारी बढाएका छन् । 

यो दिन बजारका ३ वटा समूहको सूचकमा सामान्य गिरावट आए पनि बाँकी सबै समूहको सूचक हराभरा भएका छन् । उत्पादनमूलक समूह ०.७५ अंक, जीवन बिमा समूह १.०८ अंक र अन्य समूह १.९ अंकले घट्यो । 

यो दिन बैंकिंग समूह ११.१४ अंकले बढ्यो भने होटल समूह ३२.११ अंक, विकास बैंक समूह १३.५२ अंक, जलविद्युत समूह ५.१३ अंक, निर्जीवन बिमा समूह २९.४३ अंक, बित्त समूह ०.९४ अंक र माइक्रोफाइनान्स समूह १०.१४ अंकले बढे । 

यो दिन क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.८२ अंकले वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६४ कम्पनीका ९ लाख ६० हजार ७ सय १४ कित्ता सेयर ३० करोड २५ लाख ९७ हजार २ सय १ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन एनआइसी एशिया बैंकले सबैभन्दा बढी ३ करोड २० लाख बढीको सेयर किनबेच भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९० लाख, एनएमबी बैंकले २ करोड ९ लाख, नेपाल बैंकले १ करोड ४२ करोड बढीको कारोबार गरेका छन् । 

जनता बैंक नेपालले ८० लाख, सनराइज बैंकले ७७ लाख बढीको कारोबार गरेको यो दिन प्राइम कमर्सियल बैंकको ७७ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । सिद्धार्थ बैंकले ७५ लाख, प्राइम कमर्सियल बैंकले ६६ लाख र नवील बैंकले ६५ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनआइसी एशियाका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले वृद्धि भयो । 

यस्तै, तिनाउ विकास बैंकका लगानीकर्ताले ५.४५ प्रतिशत र भार्गव विकास बैंकका लगानीकर्ताले ५.०० प्रतिशतले सम्पत्ति कमाए । 

यो दिन सूर्योदय लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको सेयर मूल्य ३.३१ प्रतिशतले घट्यो ।