काठमाण्डौ । एकपछि अर्को गर्दै कम्पनीहरुले लाभांश घोषणा गर्न थालेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा समेत देखिन थालेको छ ।

लगानीकर्ता ‘क’ वर्गका कम्पनीहरुको सेयर सस्तिएको बेला खरिदारीमा लाग्दा यसले बजारमा बुलिस ट्रेण्ड सुरु भएको देखिएको छ । लगानीकर्ताहरु विशेष गरी वाणिज्य बंैकको सेयर सस्तोमा खरिद गर्ने होडबाजीमा लाग्दा बजारमा साँढेको बोलवाला देखिएको छ । 

यसैको प्रभाव स्वरुप बिहीबार नेप्से परिसूचक १४.१३ अंकले बढेर १२४४.८४ विन्दूमा पुगेको छ । 

यो दिन नेप्से परिसूचकसँगै कारोबार रकम समेत ह्वात्तै बढेको छ । बजारमा परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढ्नु भविष्यका लागि सुखद संकेत हो । विगत केही दिनदेखि बजारमा यही प्रवृति देखिएको छ । यसले भविष्यमा बजार अझै माथि जानसक्ने संकेत देखिएको विश्लेषकहरुले बताएका छन् । जसरी नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भयो, उसैगरी कारोबार रकममा समेत उछाल आई ७३ करोड हाराहारीको उचाई चुमेको छ । यसले बजार बलियो बन्दै गएको देखिन्छ । 

यो दिन क वर्गका कम्पनीहरुका कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.४७ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.०५ अंकले बढेको छ । 

यो दिन निर्जीवन बिमा समूहको सूचक ४१.४१ अंकले घटेको छ भने जीवन बिमा समूह ११.१८ अंक तथा माइक्रोफाइनान्स समूह ०.६९ अंकले बढेको छ । 

यो दिन बैंकिंग समूहको सूचक १६.२ अंकले बढेको छ । यस्तै, विकास बैंक ११.२७, होटल समूह ३२.१९, जलविद्युत समूह ४.५३, बित्त समूह २.२, उत्पादनमूलक २.०६ र अन्य समूह २२.२९ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७३ कम्पनीका २७ लाख ११ हजार १ सय १० कित्ता सेयर ७२ करोड ९८ लाख ५ हजार ५ सय ४६ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी एनएमबी बैंकले ६ करोडको हाराहारीमा कारोबार गरेको छ । यसैगरी, एनआइसी एशिया बैंकले ५ करोड ५८ लाख, प्रभू बैंकले ३ करोड ६४ लाख, जनता बैंक नेपाल लिमीटेड ३ करोड १ लाख, प्राइम कमर्सियल बैंकले २ करोड ९९ लाख, मेगा बैंकले २ करोड ७७ लाख, कुमारी बैंकले २ करोड  ४९ लाख, एनसीसी बैंकले २ करोड ४७ लाख, माछापुच्छे बैंकले २ करोड ४२ लाख र नेपाल बंगलादेश बैंकले २ करोड ३३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.७७ प्रतिशतले बढ्यो । यो दिन तिनाउ डेभलपमेन्ट बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ । 

यो दिन भार्गव विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.५४ प्रतिशतले घट्यो ।