काठमाण्डौ । सेयर बजारमा उछाल आएको छ । बैंक तथा बित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो । 

यस्तै, बित्तीय संस्थाहरुले मार्जिन लोनलाई सहज बनाएसँगै लगानीकर्ता उत्साहित भएका छन् । बैंकिङ प्रणालीमा प्रशस्त तरलता हुँदा बैंक तथा बित्तीय संस्थाहरुले प्रतिस्पर्धामा मार्जिन लोनको अफर गर्न थालेपछि यसले बजारमा सकारात्मक प्रभाव पारेको हो । 

कर्जा सहज रुपमा पाइन थालिएपछि लामो समयसम्म ‘पर्ख र हेर’को रणनीतिमा बसेका ठूला लगानीकर्ता, म्युचुअल फण्डहरुले समेत बजारमा खरिदारी बढाएका छन् । बजारमा पछिल्लो समय लङटर्मका लागि लगानी गर्नेहरुको बोलवाला बढ्न थालेको देखिएको छ।

यी सबै कारणले बजारमा उछाल आएको हो । मंगलबार नेप्से परिसूचकले २२.३७ अंकले बढेर १२८०.०५ विन्दू चुम्यो भने १ अर्ब ७ करोड बढीको कारोबार भयो । 

निकै दिनपछि कारोबार रकमले एकअर्ब माथिको उत्साहप्रद यात्रा तय गरेको हो । 

नेप्से परिसूचक दोहोरो अंकले बढ्नु र कारोबार रकममा समेत उछाल आउनुले बजार निकै मजबुत भई बुलिस ट्रेण्डमा कुद्ने तयारीमा रहेको बुझ्न सकिने विश्लेषकहरुले बताएका छन् । उनीहरुले यो बेला सेयर खरिदारीको बेला भएकोले अवसरको उपयोग गर्दै लगानी गर्नुपर्नेमा जोड दिए । 

यो दिन बजारलाई उछालको गतिमा कुदाउने महत्वपूर्ण भूमिका बैंकिङ समूहले गर्यो । यो समूहको परिसूचक २९.५२(२.६७ प्रतिशत) अंकले बढ्यो । यस्तै, निर्जीवन बिमा समूह ६४.६५ अंकले बढेको यो दिन जीवन बिमा समूहको सूचकमा ३७.३६ अंकको बढोत्तरी भयो । होटल समूह २२.७८ अंक, व्यापार समूह २.७९ अंक, विकास बैंक समूह ३७.८२ अंक, जलविद्युत समूह ७.३४ अंक, बित्त समूह ५.५९ अंक, उत्पादनमूलक १०.९४ अंक र माइक्रोफाइनान्स समूह १०.५५ अंकले बढे ।

यो दिन ‘क’ वर्गका कम्पनीमा उच्च खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स ५.३१ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.०५ अंकको बढोत्तरी भयो ।

अन्य समूहको सूचकमा १.९४ अंकको गिरावट आयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७३ कम्पनीका ४२ लाख १५ हजार ६ सय ५१ कित्ता सेयर १ अर्ब ७ करोड ४२ लाख ३८ हजार ३४ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी प्रभू बैंकले ८ करोड ५१ लाख बढीको कारोबार गरेको छ भने एनआइसी एशियाले ५ करोड ९८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ५ करोड ४९ लाख, जनता बैंक नेपालले ५ करोड ४० लाख, नेपाल बैंकले ५ करोड ३३ लाख, एनएमबी बैंकले ४ करोड ८८ लाख, सानिमा बैंकले ४ करोड ३६ लाख, कुमारी बैंकले ४ करोड २३ लाख, प्राइम कमर्सियल बैंकले ४ करोड १२ लाख र एनसीसी बैंकले ३ करोड ५४ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंकको एकछत्र राज देखियो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन भार्गव विकास बैंकका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.८२ प्रतिशतले वृद्धि भयो । यस्तै, सनराइज बैंकको सेयर मूल्य ८.१६ प्रतिशतले बढ्यो भने प्रभू बैंकको सेयर मूल्यमा ७.३६ अंकको बढोत्तरी भयो । 

यो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४.५४ प्रतिशतको गिरावट आयो ।