काठमाण्डौ । बजार घटेर नाजुक अवस्था बन्दै गएपछि सुधारका लागि नेपाल धितोपत्र बोर्डले खेलेको भूमिका र सेयर लगानीकर्ता संघको प्रयासले काम गर्न नसकेपछि आम अपेक्षाविपरीत आइतबार बजारमा भीषण पहिरो गएको छ । 

नेप्से परिसूचक ४३.७३ अंकले घटेर १२५२.५० मा झरेको छ भने होटल बाहेक सबै समूहको सूचकमा ठूला ठूला पहिरा गएका छन् । आइतबार पनि सबैभन्दा बढी बिमा समूहका लगानीकर्ताले गुमाएका छन् भने वाणिज्य बैंकले पनि ठूलै पहिरोको सामना गर्नुपरेको छ । यो दिन कुनै पनि बिमा कम्पनीको सेयर मूल्य बढेन । कतिपय बिमाका लगानीकर्ताले ठूलै रकम गुमाउन पुुगे । 

‘क’ वर्गका कारोबार मापक सेन्सेटिभ इण्डेक्स आइतबार एकैदिन ९.६९ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा भने ३.४५ अंकको गिरावट देखिएको छ । 

यो पनि पढ्नुहोस :
बजार यसकारण घटिरहेको छ, धैर्य गर्नुहोस

...............................................................................

सबैभन्दा बढी बिमा समूहको सूचक ३४६.१४ अंकले घटेको छ । धेरै बिमाका लगानीकर्ताको जहाज डूूबेको छ । वाणिज्य बैंक समूहमा ४५.४५ अंकको गिरावट देखियो भने विकास बैंक, बित्त, जलविद्युत र अन्य समूहमा क्रमशः ३१.०२, १२.४६, ६२.९४ र ६.०७ अंकको पहिरो गएको छ । बजारमा सन्नाटा छाएको बेला होटल समूह भने १५.४ अंकले माथि उक्लिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार १३२ कम्पनीको कुल १३ लाख ९ हजार ८ सय ८५ कित्ता सेयर ४९ करोड ४१ लाखमा किनबेच भयो । बजारमा खरीद गर्नेको भन्दा बिक्री गर्नेको उच्च चाप हुँदा दैनिकजसो ठूलो पहिरो गइरहेको छ । 

कारोबारको हिसाबले सबैभन्दा धेरै प्रभूू बैंक २ करोड ५४ लाख बराबरको कारोबार गर्यो । एनबी बैंकले २ करोड ४९ लाख, डिप्रोक्स डेभलपमेन्ट बैंकले २ करोड २४ लाख, नेपाल लाइफले २ करोड ७ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड २ लाखको कारोबार गरे भने प्रभूू बैंकको १ करोड ८५ लाखको संस्थापक सेयर समेत किनबेच भयो । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थानमा वाणिज्य बैंक, एक स्थानमा विकास बैंक र बाँकी एक स्थानमा बिमा कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार १३२ कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्य मात्र बढ्यो । बाँकी सबै कम्पनीको लगानीकर्ता धेरै थोरै गुमाए । बजारमा भीषण पहिरो जाँदा पनि मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । गुहेश्वरी मर्चेन्ट बैंक र एण्ड फाइनान्सको सेयर मूल्य ३ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, सोल्टी होटलको सेयर मूल्यमा २ प्रतिशत, जेबिल्स फाइनान्सको मूल्य १.६३ र प्रभूू बैंकको संस्थापक सेयरको मूल्यमा १.६२ प्रतिशतको बढोत्तरी भयो । 

आइतबार प्राइम लाइफ इन्स्योरेन्स र प्रभूू इन्स्योरेन्सको सेयर मूल्यमा भीषण पहिरो गयो । यी दुुई कम्पनीको लगानीकर्ताले १० प्रतिशतको दरले सम्पत्ति गुमाए । यस्तै, एनबी इन्स्योरेन्स, राप्तिभेरी विकास बैंक, प्रूडेन्सियल इन्स्योरेन्स, अल्पाइन डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्सले १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए । प्रिमियर इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्यमा साढे ९ प्रतिशतको हाराहारीमा पहिरो गयो ।