काठमाण्डौ । बैंकहरुले ब्याजदर बढाउन थालेसँगै बजारमा नकारात्मक प्रभाव देखिएको छ । ब्याजदर बढ्न थालेसँगै लगानीकर्ता निरुत्साहित हुने देखिएको छ । यसैको प्रतिक्रिया बिहीबारको बजारमा देखिएको हो । 

यो दिन नेप्से परिसूचक ३.२३ प्रतिशतले घटेर १२२७.३७ को विन्दूमा सीमित हुन पुगेको छ भने कारोबार रकम समेत घटेर ४३ करोडको हाराहारीमा समेटिन पुगेको छ । 

केही वाणिज्य बैंकहरुले बैंक ब्याजदर बढाउन थालेका छन् । यो क्रम अन्य बैंकहरुमा समेत सुरु हुने आँकलनका बीच बजारमा सेयर बिक्रीचाप बढेको देखिएको छ । 

पछिल्लो समय बैंकहरुमा लोनेबल फण्ड(लगानीयोग्य रकम) निकै टाइट हुँदै गएको खबरहरुले समेत बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषक बताउँछन्। 

ब्याजदर र सेयर बजारको सम्बन्ध ठीक उल्टो हुन्छ । ब्याजदर घट्दा सेयर बजार बढ्छ भनिन्छ भने ब्याजदर बढ्दा सेयर बजार घट्छ । आगामी दिनमा अन्य बैंकले समेत ब्याजदर बढाउनतर्फ लागे भने यसले बजार गिरावटमा अझ बढी सहयोग गर्ने जानकार बताउँछन् । 

यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखियो, फलस्वरुप सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले घटेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२६ प्रतिशतको गिरावट आयो । 

यो दिन व्यापार समूह १.६९ अंकले बढ्यो भने बित्त समूह १.३६ अंक तथा जीवन बिमा समूह ०.५५ अंकले बढ्यो ।

बैंकिङ समूह २.८६ अंकले घट्यो । होटल समूह २६.६९ अंकले घट्यो भने विकास बैंक समूह ४.०८ अंक, जलविद्युत समूह १.०९ अंक, निर्जीवन बिमा समूह १४.३ अंक, उत्पादनमूलक ६.२५ अंक, माइक्रोफाइनान्स समूह ११.२ अंक तथा अन्य समूह ०.७८ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका १५ लाख ८२ हजार ५ सय ५८ कित्ता सेयर ४२ करोड  ८६ लाख ४४ हजार ६ सय ६ रुपैयाँमा किनबेच भयो । 

यो दिन एनएमबी बैंकले ३ करोड १९ लाख बढीको कारोबार गर्यो । माछापुच्छे बैंकले २ करोड २८ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले १ करोड ७७ लाख, एनआइसी एशियाले १ करोड ६५ लाख, नेपाल बैंकले १ करोड ४५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ४३ लाख, कुमारी बैंक लिमीटेडले १ करोड ३२ लाख, मेगा बैंकले १ करोड २० लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड १८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सिभिल बैंकले १ करोड ६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा नाडेप लघुवित्तका सेयरधनीले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यो दिन प्रोग्रेसिभ फाइनान्स र समता माइक्रोफाइनान्सका लगानीकर्ताले ४ प्रतिशतको दरले सम्पत्ति कमाए । 

यो दिन मल्टीपर्पोज फाइनान्स कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ९.३४ प्रतिशतले घट्न पुग्यो ।