काठमाण्डौ । बैंकहरुले निक्षेपको ब्याजदर घटाएर सिंगल डिजिटमा झारेसँगै सेयर बजारमा उछाल आएको छ । ब्याजदरमा भद्र सहमतिको प्रभावले बजार ३२.२४ अंकले उक्लिएको हो । 

ब्याजदरसँगै पूँजी बजारको समस्या समाधानका लागि अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलको प्रतिवेदनमा समेटिएका बजार विकास र बिस्तारका बुँदा कार्यान्वयन हुने आशाले समेत लगानीकर्ताको मनोबल एकाएक उच्च बनेको हो । 

सो प्रतिवेदनमा मुद्रा तथा पूँजी बजारका समस्या र तिनका समाधानको उपायका लागि ५८ बुँदे सुझाव दिइएको छ । प्रतिवेदन बुझेलगत्तै अर्थमन्त्रीले त्यसका कार्यान्वयनका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिइसकेका छन् । उनकैको निर्देशन अुनसार केन्द्रीय बैंकको पहलमा बैंकहरुले ब्याजदर घटाएका छन् भने प्रतिवेदनले समेटेका बाँकी बिषयको शीघ्र कार्यान्वयनका लागि अन्य सम्बद्ध पक्षले समेत बाक्ला छलफलहरु गर्न थालेका छन् । 

सेयर बजार र ब्याजको सम्बन्ध सधै विपरीत हुने गर्छ । ब्याजदर घट्दा सेयर बजार बढ्छ भने बढ्दा बजार घट्छ । अहिलेको अवस्था समेत ठ्याक्कै यस्तै देखिएको छ । 

लामो समयपछि उछालको नेप्से परिसूचक दौडिएको छ भने कारोबार रकम पनि ८७ करोड माथि पुगेको छ । यसले बजारको सुखद भविष्यको संकेत गर्ने विश्लेषकहरु दाबी गर्छन् । 

यो दिन राम्रा कम्पनीको सेयर किन्न लगानीकर्ताको मारामारकै अवस्था बन्यो । यहीकारण सेन्सेटिभ इण्डेक्स ७.३१ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.४२ अंकको बढोत्तरी देखियो । 

यो दिन उत्पादनमूलक समूहमा ६.०५ अंकको गिरावट देखिए पनि बाँकी समूहको सूचकमा हरियाली छायो । सबैभन्दा बढी निर्जीवन बिमा समूहको सूचकमा उछाल देखियो । यो समूहको सूचक करिब ६ प्रतिशतले वृद्धि भयो । माइक्रोफाइनान्स समूहको सूचकमा ५ प्रतिशतको हाराहारीमा बढोत्तरी देखियो भने जीवन बिमा समूहको सूचक ४.५७ प्रतिशतले बढ्यो । 

यो दिन बैंकिंग समूह २.४३ प्रतिशत, होटल समूह ३.७४ प्रतिशत, विकास बैंक समूह १.९५ प्रतिशत, जलविद्युत समूह २.१८ प्रतिशत, बित्त समूह ०.८३ प्रतिशत र अन्य समूह २.३८ प्रतिशतले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६४ कम्पनीका २८ लाख १२ हजारु २ सय १२ कित्ता सेयर ८७ करोड ५५ लाख ७२ हजार ७ सय ६३ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी सनराइज बैंकको ८ करोड १७ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । यस्तै, एनएमबी बैंकले ७ करोड १३ लाख, नेपाल बैंकले ४ करोड ८३ लाख, प्रभू बैंकले ४ करोड २८ लाख, छिमेक लघुवित्त विकास बैंकले ३ करोड ५२ लाख, प्राइम कमर्सियल बैंकले २ करोड ९३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ५७ लाख, एनसीसी बैंकले २ करोड २४ लाख, गरिमा विकास बैंकले २ करोड २० लाख र लुम्बिनी विकास बैंकले २ करोड १८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा उछाल आएको दिन १५ कम्पनीका लगानीकर्ताले कुस्त कमाए । १९ कम्पनीले मात्र गुमाएका यो दिन १४५ कम्पनीका लगानीकर्ताले कमाए । 

यो दिन आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाले पोजिटिभ सर्किट हाने । यी तीनवटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । 

यस्तै, नागबेली लघुवित्त विकास बैंक, गुराँस लाइफ इन्स्योेरेन्स, वोमी माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, प्रूडेन्सियल इन्स्योरेन्स र लुम्बिनी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति कमाए । 

यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ९ प्रतिशतले सम्पत्ति बढाए भने प्राइम लाइफ इन्स्योरेन्सको मूल्य ८ प्रतिशतले वृद्धि भयो । 

बजारमा उछाल आएको दिन कैलाश विकास बैंकका लगानीकर्ता अभागी साबित भए । यो कम्पनीको सेयर मूल्य ६.२५ प्रतिशतले घट्यो ।