काठमाण्डौ । मौद्रिक नीतिलाई लगानीकर्ताले पत्याएनन् । सेयर धितो कर्जाको सीमातर्फ मात्र धेरैको ध्यान जाँदा मौद्रिक नीतिमा समेटिएका बजारमैत्री धेरै नीति छायामा परेका छन् । यही अवस्थामा केही समूहहरुले तीव्र चलखेल समेत सुरु गरेका छन्, जसको फलस्वरुप बजार बढ्ने अपेक्षाविपरीत नेप्से परिसूचकमा १३.६६ अंकको गिरावट आयो । तर, कारोबार रक मभने ४५ करोड माथि पुगेको छ । नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम ४५ करोड माथि हुनुले धेरै आत्तिइहाल्नुपर्ने अवस्था नरहेको देखाउँछ । 

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ । 

मौद्रिक नीतिले सेयर लगानीकर्ताहरुलाई उत्साहित बनाउने गरी गरेको अर्को व्यवस्था भनेको शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने भन्ने हो । यसअनुसार सेयर धितो कर्जा लिएका लगानीकर्ताहरुलाई बैंकहरुले १८० दिनको औषत मूल्य भन्दा २० प्रतिशत घटेपछि मात्रै मार्जिन कल गर्न पाउनेछन् । यसअघि बैंकहरुले १० प्रतिशत मूल्य घटेपछि नै मार्जिन कल गर्ने गरेका थिए । कतिपय विज्ञ लगानीकर्ताले यसलाई सेयर धितो कर्जाको यसअघिको सीमा ५० प्रतिशतलाई घुमाउरो ढंगले बढाएर ६० प्रतिशत पुर्याइए सोसरहकै व्यवस्थाको रुपमा समेत बुझेका छन् । 

बैंकहरुलाई ब्रोकर लाइसेन्स, तरलता बढाउने अन्य व्यवस्था तथा ब्याजदर नियन्त्रणका लागि प्रशस्त कार्यक्रम ल्याइए पनि यी कुरालाई लगानीकर्ताले प्रष्टसँग नबुझ्दा बढ्नुपर्ने बजार घटेको पाइएको हो । 

कतिपय विश्लेषकले फेरि पनि सोझा लगानीकर्तालाई उल्लू बनाएर बजार घटाउने खेल खेलिएको दाबी गरेका छन् । मौद्रिक नीतिले पूँजीबजार सुधारका लागि गरेका धेरै राम्रा व्यवस्थाका बाबजुद बजार घट्नुले ती विश्लेषकहरुको दाबीलाई यथार्थपरक मान्न पनि सकिन्छ ।

के-के भयो बजारमा ?
यो दिन बैंकिङ समूह नै १०.३१ अंकले घटेको छ । व्यापार समूह ०.८४ अंक, होटल समूह ३७.६५ अंक, विकास बैंक समूह १८.८३ अंक, जलविद्युत समूह २१.७, बित्त समूह ३.८७ अंक, बिमा समूह १०७.५८ अंक, माइक्रोफाइनान्स समूह ३६.०६ अंक तथा अन्य समूह ०.५१ अंकले घटे । यो दिन उत्पादनमूलक समूहमा चाहि २.८ अंकको बढोत्तरी भयो । 

साताको अन्तिम कारोबार दिन क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.९३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०३ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँमा किनबेच भयो । 

यो दिन लक्ष्मी बैंकले सबैभन्दा धेरै ६ करोड ५१ लाख बढीको कारोबार गर्यो । कुमारी बैंकको ४ करोड ३६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनएमबी माइक्रोफाइनान्सले १ करोड ६१ लाख बढीको कारोबार गर्यो । कुमारी बैंकले १ करोड २२ लाख बढीको कारोबार गरेको बजारमा जनता बैंक नेपालको १ करोड बढीको संस्थापक सेयर तथा नेपाल लाइफ इन्स्योरेन्सको पनि एककरोड बढीको साधारण सेयर समेत किनबेच भयो । प्रूडेन्सियल इन्स्योरेन्सको ९४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकले ९२ लाख, साना किसान विकास बैंकले ८२ लाख र नेपाल बैंकले ८० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले बढी कमाए । यो कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.५१ प्रतिशतले बढ्यो । यस्तै, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरुले ७ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

यो दिन नागबेली लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।