काठमाण्डौ । अन्ततः बिमा समूहको चमकधमकलाई यो साताको पहिलो कारोबार दिनले समेत रोकिदिएको छ । बजारमा बैकिङ समूहको बोलवाला चल्दा नेप्से परिसूचक ४.४७ अंकले बढेको छ भने कारोबार रकम पनि १ अर्ब माथि नै भएको छ । 

वणिज्य बैंकहरुले धमाधम आकर्षक बित्तीय विवरणहरु निकाल्न थालेपछि तिनीहरुबाट दिइनसक्ने आकर्षक लाभांशको आँकलन गर्दै लगानीकर्ताले छानी छानी राम्रा बैंकहरुको सेयर उठाउन थालेका छन् । यसकारणले समेत बैकिंग समूह लगातार थोरै अंकले मात्रै भए पनि उकालो लागिरहेको छ । यो समूहकै आडभरोसमा कारोबार रकम पनि १ अर्ब तल आएको छैन । 

साताको पहिलो कारोबार दिन आइतबार बैकिंग समूह ११.०९ अंकले बढेको छ । १ अर्ब १ करोड बढीको सेयर कारोबार हुँदा यो समूहले मात्रै ३४ करोड १५ लाख बढीको हिस्सामा कब्जा गर्यो । 

यो दिन उत्पादनमूलक समूह १७.६९ अंकले बढ्यो भने अन्य समूहमा ५.७९ अंकको वृद्धि देखियो । अन्य सबै समूहको सूचक घट्यो । 

होटल समूह ३४.१९, बिमा समूह ५०.२७, जलविद्युत समूह १६.३३, विकास बैंक समूह ३.१३ र बित्त समूह ६.९३ अंकले घटे । 

'क' वर्गमा पर्ने वाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण देखिएपछि सेन्सेटिभ इण्डेक्स ०.८९ अंकले बढ्यो भने समग्र कारोबारमा पनि सुधार आउँदा फ्लोट इण्डेक्समा ०.३२ अंकको बढोत्तरी देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १ सय ५९ कम्पनीका ३२ लाख ९३ हजार ४ सय ८१ कित्ता सेयर किनबेच भयो । सबैभन्दा धेरै नेशनल हाइडोपावर कम्पनी लिमीटेडले कारोबार गर्यो । यो कम्पनीको ८ करोड ४१ लख बढीको सेयर किनबेच भयो । यस्तै, आकर्षक बित्तीय विवरण निकालेर लगानीयोग्य वाणिज्य बैंक बन्न सफल प्राइम कमर्सियल बैंकमा समेत लगानीकर्ताको आकर्षण देखियो । यहीकारण यो बैंकले ५ करोड ९८ लाख बढीको कारोबार गर्यो । 

नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाले ४ करोड १६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ९१ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड १७ लाख, नबील बैंकले ३ करोड ११ लाख बढीको कारोबार गरे । यस्तै, गण्डकी विकास बैंकले २ करोड ६५ लाख, मुक्तिनाथ विकास बैंकले २ करोड ४२ लाख, नागरिक लगानीकोषले २ करोड १९ लाख र फरवार्ड माइक्रो फाइनान्सले २ करोड १७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन दुुई कम्पनीले पैसा छापे । ललितपुर फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो भने वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको मूल्य ९.०४ प्रतिशतले वृद्धि भयो । बहुुउद्देश्यीय फाइनान्सको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

कारोबार रकमको आधारमा यो दिन टप १० मा परे पनि गण्डकी विकास बैंकको सेयर मूल्यमा पनि पहिरो गयो । यो विकास बैंकले १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमायो । यस्तै, जनरल फाइनान्सको मूल्यमा समेत ९.२१ प्रतिशतको पहिरो गयो ।