– अनन्त्य सुन्दर

काठमाण्डौ । नागरिक स्टक डिलरले मुद्दति निक्षेपमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ। 

कम्पनीले गत वैशाख १८ गते एउटा सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थालाई लगानी गर्नका लागि आह्वान गरेको छ। सूचनामा कम्पनीले १८ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्न इच्छुक भएकाले बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी यही वैशाख २५ गते कार्यालय समयभित्र विवरण बुझाउन भनिएको छ।

स्टक डिलरले बजारमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न तथा बजारमा सन्तुलन कायम गरी धितोपत्र व्यवसायीका रुपमा काम गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। बजार निरन्तर घट्दो क्रममा भएको बेला स्टक डिलरले मुद्दति निक्षेपमा लगानीका लागि आह्वान गरेसँगै लगानीकर्ताका साथै बजारका सरोकारवालाले आक्रोश भएका छन्। 

नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश्वरलाल श्रेष्ठ आवश्यकताअनुसार संस्थाको निश्चित उद्देश्य हुने र डिलरको पहिलो उद्देश्य नै लगानीकर्ताको स्रोतको उचित संरक्षण गरी उचित प्रतिफल दिने रहेको बताउँछन्। ‘हामी पनि हाम्रो प्रोमोटरप्रति जबाफदेही हुनुपर्छ। उनीहरुले प्रतिफलको आशा गरेर नै लगानी गरेका हुन्छन्’, उनले भने, ‘त्यसैले डिलरको पहिलो उद्देश्य नै लगानीकर्तालाई उचित प्रतिफल दिनु हो।’ 

यसका साथै डिलरले आफ्नो कर्मचारीलाई तलब दिन र अन्य खर्च गर्न पनि प्रतिफलबाटै स्रोत जुटाउने गरेको श्रेष्ठले बताए। ‘नागरिक स्टक डिलर सामाजिक संस्था वा एनजीओ होइन’, श्रेष्ठ भन्छन्, ‘डिलरको तरलता व्यवस्थापन साथै बजारमा कुन समयमा लगानी गर्ने भन्ने आफ्नै आन्तरिक नीति नियम र रणनीति हुन्छ। सबै स्रोत बजारमा मात्र लगानी गर्न सकिन्न। हामीले पनि आफ्नै लगानी रणनीतिअनुरुप बजारको ट्रेन्ड, जोखिम हेरेर किन्ने बेच्ने गर्नुपर्छ।’

‘स्थापना भएको दुई वर्षमा नै बजार नै नियन्त्रण कसरी गर्न सकिन्छ ?’, प्रश्न गर्दै श्रेष्ठ भन्छन्, ‘अहिले भएको पुँजी र स्रोतले बजार नै नियन्त्रण गर्नेजस्तो क्रियाकलाप गर्न सकिँदैन। डिलरको समयसँगै पुँजी, स्रोत र क्षमता अभिवृद्धि भएसँगै बजारको स्थिरतामा, बजारमा हुने अस्वाभाविक क्रियाकलाप नियन्त्रण गर्न मत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।’

बजारमा अस्वाभाविक उतारचढाव नियन्त्रण गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको डिलरले मुद्दति निक्षेपमा १८ करोड लगानी गर्न लागेको कुराको स्पष्टीकरण दिँदै श्रेष्ठ भन्छन्, ‘डिलरको आफ्नै लगानी रणनीति हुन्छ। हाम्रो पोलिसीअन्तर्गत नै रहेर कुल स्रोतको केही प्रतिशत तरलता राख्ने उद्देश्यले उक्त आह्वान गरिएको हो। डिलरले आफूसँग भएको सबै पुँजी सेयर बजारमै लगानी गर्नुपर्छ भन्ने हुँदैन। डिलरले भएको स्रोतको अप्टिमल परिचालन गर्ने हो। त्यसैले आवश्यकताअनुरूप डिलरले बजारमा पुँजी लगानीका साथै सापटी पनि लिने गरेको छ। त्यसका साथै १८ करोडले बजारमा ठूलो प्रभाव पार्ने पुँजी पनि होइन।’

पुँजीबजार विकास र विस्तारका लागि अन्य संस्थागत लगानीकर्ता पनि आउनुपर्ने श्रेष्ठको भनाइ छ। ‘एउटामात्र संस्था वा एउटामात्र स्टक डिलरले बजार नियन्त्रण गर्न सम्भव छैन’, उनले भने, ‘त्यसैले अन्य थप संस्थागत लगानीकर्ता पनि सञ्चालनमा आउनुपर्छ।’