काठमाण्डौ । नयाँ  वर्षको सुरुवातदेखि लगातार ९ दिनसम्म बढेको बजारमा दिनहुँजसो करेक्सन हुन थालेको छ । खरीदकर्ताहरुको चापका  कारण चार दिनसम्म १ अर्ब माथिको कारोबार गरेको र ९ दिनसम्म उकालोयात्रा  तय  गरेको बजारमा बुधबार ८.३९ अंकको करेक्सन देखिएको हो । 

यो दिन बजारको गिरावटसँगै कारोबार रकममा पनि तीव्र गिरावट देखिएको छ । मंगलबार पनि कारोबार रकममा पहिरोको अवस्था देखिएको थियो । मंगलबारको तुलनामा बुधबारको कारोबार रकममा १८ करोडले पहिरो गयो । 

विश्लेषकहरुले बजार परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) समानान्तर ढंगले घट्दै गएमा यसले अशुभ संकेत गर्ने  बताउने गर्छन् । इण्डेक्स र टर्नओभर समानान्तर ढंगले बढ्दै गयो भने त्यसले बजारमा उत्साहको अवस्था ल्याउनसक्ने र दुवै समानान्तर रुपमा घट्दै निराशाको बादल मडारिन सक्ने दाबी गर्छन् ।

मंगलबार र बुधबारको इण्डेक्स तथा टर्नओभरको अवस्थाले बजार अझै घट्नसक्नेतर्फ संकेत गर्छ । तर, २ दिनकै प्रवृतिलाई आधार मानेर बजार घट्छ भनियो भने त्यो मूर्खताबाहेक केही हुँदैन । यदि आगामी केही दिनको बजारमा समेत मंगलबार र बुधबारकै जस्तो प्रवृति देखिए यसले बजार घटाउनसक्ने अनुमान लगाउन सकिन्छ ।

बुधबार बजारका प्राय सबै समूहगत सूचकमा रातो पोतियो । अन्य समूह ०.७२ अंकले बढ्यो भने बाँकी सबै समूह घटे । 

यो दिन बैकिङ समूह ५.९ अंक, बिमा समूह ५७.२७, विकास बैंक समूह १६.६५, माइक्रोफाइनान्स १८.३२, बित्त समूह ५.०३, जलविद्युत समूह २३.०९, होटल समूह २८.७६, व्यापार समूह ०.१७, उत्पादनमूलक ११.१७ अंकले घटे । 

‘क’ वर्गका कम्पनीमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.५ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा समेत ०.७९ अंकको गिरावट आयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ११ लाख ७ हजार ५ सय १३ कित्ता सेयर ५६ करोड १४ लाख ६० हजार ७० रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंक लिमीटेडले ४ करोड २५ लाख बढीको कारोबार गर्यो । यो दिन ग्लोबल आइएमई बैंकले २ करोड १३ लाख  बढीको कारोबार गर्यो भने राष्ट्रिय बिमा कम्पनी लिमीटेडको १ करोड ९७ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । यस्तै, चिलिमे हाइड्रोले १ करोड ८६ लाख, यूनाइटेड इन्स्योरेन्सले १ करोड ६५ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ६२ लाख, स्वाबलम्बन लघुवित्त  बित्तीय संस्थाले १ करोड ५६ लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड ४६ लाख, सानिमा हाइड्रोले १ करोड ४४ लाख र नेपाल बैंकले १ करोड ३३ लाख बढीको कारोबार गरे।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा स्वदेशी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.०४ प्रतिशतले वृद्धि भयो । पोखरा फाइनान्सको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा   बढ्यो ।

यो दिन रिलायन्स फाइनान्सले सबैभन्दा धेरै ६.१५ प्रतिशतले गुमायो भने यूनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य समेत ६ प्रतिशतको हाराहारीमा घट्यो ।