-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । सेयर बजार लामो समयदेखि निरन्तर गिरावटमा चलिरहेको छ । तरलता सहज भएर बैंकहरुको ब्याजदर घट्दा समेत बजारमा रौनक फर्किएको छैन । 

सेयर बजारसँग उल्टो सम्बन्ध रहेको मानिएको ब्याजदर घट्दा बजार बढ्नुपर्नेमा उल्टो घटिरहेको छ । कतिपय महत्वपूर्ण घटनाक्रम हुँदा समेत बजार नबढेका कारण लगानीकर्ता हायलकायल भइरहेका छन् । 

कुनै समयमा दैनिक २२ अर्बसम्मको कारोबार भएको पुँजीबजारमा हाल मुश्किलले  १ अर्बको मात्रै कारोबार भइरहेको छ। बजार १८ सयदेखि २२ सयको विन्दुमा घुमेको पनि लामै भइसकेको छ । आखिर बजारमा किन यस्तो भइरहेको छ ? बजारले माथिल्लो विन्दूको यात्रा गर्न किन सकिरहेको छैन ? के कारणले बजारको गतिमा ब्रेक लागिरहेको छ ? बैंकमा तरलता सहज भई ब्याजदर घट्दा समेत बजार नबढ्नुको कारण के हो ? अब के हुँदा चाहि बजार बढ्छ ?  

नेपाल इन्भेष्टर फोरमका निबर्तमान अध्यक्ष छोटेलाल रौनियारको विचारमा खासगरी धितोपत्र बोर्ड, अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंकले केही सुधारका काम समयमै गरिदिए पुँजीबजारमा लगानीकर्ताको मनोबल फर्कने र बजारले लय समात्नेछ । पुँजी बजारमा लगानीकर्ताको २० खर्ब रुपैयाँ गुमिसकेको छ । पुँजी बजारमा उद्योगी व्यापारीको पनि राम्रै लगानी रहेको छ । सबै लगानीकर्ताको मनोबल उकास्नका लागि धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिसनलाई तुरुन्तै कार्यान्वयनमा ल्याइन आवश्यक रहेको उनी बताउँछ । 
यसैगरी, नयाँ स्टक एक्सचेञ्ज समेत आउन आवश्यक रहेको उनको भनाई छ । 

दोश्रो बजारमा एनआरएनलाई भित्र्याउने विषयको कार्यान्वयन पनि शीघ्र हुन आवश्यक रहेको उनको भनाई छ । 

त्यसैगरी, अर्थमन्त्रालयले पनि क्यापिटल गेन ट्याक्स(पूँजीगत लाभकर) घटाइदिनुपर्ने उनको माग छ । जसमा दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत र अल्पकालिन लगानीकर्ताका लागि ५ प्रतिशत कायम गरिनुपर्नेमा उनको जोड छ । 

‘अहिले पुँजी बजार राष्ट्रबैंकको नीतिले नै बढी प्रभावित छ । त्यसैले जतिसक्दो छिटो नेपाल राष्ट्रबैंकले बजार बढेको बेला लगाएको जोखिमभार अनुपात १५० बाट घटाएर १००  मा ल्याउनुपर्छ । अब जोखिमा भार अनुपात १५० लगाइरहनुको कुनै अर्थ छैन ।’ उनले थपे–‘सेयर धितो कर्जामा लगाइएको सीमा समेत पूर्ण रुपमा हटाइनुपर्छ । कर्जा भनेको सक्नेले लिने हो । यसमा सीमा लगाइरहनु आबश्यक छैन ।’ 

यस्तै, माइक्रो फाइनान्सहरुलाई लगाइएको क्याप पनि हटाइनुपर्नेमा उनको जोड छ । ‘कर्जाको ब्याज अझै पनि  घटेको छैन । बैंकर एसोसियसनको पनि ब्याजदरमा मनोमानी चलिरहेको छ । कर्जाको ब्याज एकल अंकमा आयो भने बजार दौडन्छ ।’ रौनियारले थपे । 

यसैगरी, बजार जानकार सरोज भट्टराई पनि हाल लामो समयदेखि बढ्न नसकेको बजारमा सुधार आउन केही महत्वपूर्ण काम हुनैपर्ने बताउँछन् । जसअन्तर्गत सरकारले कर्जा लिने प्रक्रिया सहज बनाइदिनुपर्छ । 

विभिन्न सञ्चारका माध्यममा आउने नकारात्मक समाचार पनि बजार घट्नुको कारण रहेकोले तिनीहरुलाई नियमन निकायले रोक्नुपर्ने उनको सुझाव छ । उनले अहिले देखिएको हकप्रद र आइपीओको बाढी समेत रोक्नुपर्नेमा जोड दिए । 

अर्का बजार जानकार उपेन्द्र पाठकको भने बजारले लय समात्न खोजेको तर्क पेश गर्छन् । ‘यो एक्युमुलेसनको समय हो, तर दुर्गा प्रसाईंको आन्दोलनले केही प्रभाव पार्ला कि  भनेर लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छन्।’ उनले भने । 

बजारमा १४ महिनादेखि घटेको र यस्तो बेलामा धितोपत्र बोर्डले सेयरको अधिक आपूर्ति रोक्नुपर्नेमा उनको जोड छ । ‘म्युचुअल फण्डलाई ६ महिनाका लागि लगाइएको प्रतिबन्ध पर्याप्त छैन । अर्को महत्वपूर्ण विषय भनेको अर्थ मन्त्रालयको पहलमा सबै नियामक निकाय एकै ठाउँमा बसेर समस्याको समाधान खोज्नु पर्छ ।’ उनले भने–‘प्याकेजमा समस्या समधानका उपाय घोषण गरिन आवश्यक छ । हिले सबै क्षेत्र संकुचित भएको छ । यसलाई समय अवधि नै तोकेर बजार सुधारको काम अबिलम्ब गरिन आवश्यक छ ।’

खासगरी नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको क्याप र लिँदै आएको बजारविरोधी कठोर नीति पूर्ण रुपमा हटाइनुपर्ने उनको तर्क छ ।