काठमाण्डौ । बजारमा फेरि भीषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन बजारमा ठूलै पहिरो गएको हो । लगानीकर्ताको गिरेको मनोबल उकास्ने प्रयास कतैबाट पनि नहुँदा र बजारमा तीव्र चलखेल गर्नेहरुलाई खुलेआम काम गर्ने वातावरण बनाइँदा बजार निरन्तर घटिरहेको हो । यो दिन नेप्से परिसूचक ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा सीमित बन्न पुुगेको छ । 

लगानीयोग्य रकम अभावको समस्या समाधानका लागि कतैबाट पनि पहल भएको छैन, जसका कारण लगानीको वातावरण झन्–झन् बिथोलिँदै गएको छ । 

पहिलादेखि नै विभिन्न कम्पनीको सेयरधनी भएका लगानीकर्ताहरुले थप लगानी गर्ने स्रोत पहिल्याउन सकेका छैनन्, फलस्वरुप ती कम्पनीको हकप्रद भर्नका लागि भएको सेयर समेत बिक्री गरिरहेका छन् । अर्कोतर्फ, तरलता समस्याको समाधान अर्थमन्त्रालयले अर्धवार्षिक बजेट समीक्षामार्फत गर्ला भन्ने लगानीको आशाले समेत सार्थकता पाएन । बजारप्रति अनुदार देखिएका अर्थमन्त्रीलले पनि आफ्नै अभिव्यक्तिका कारण पहिरो गइरहेको बजारलाई सही ढंगले सम्बोधन गरेनन् र बजारका लागि राहात हुने कुनै पनि घोषणा वा नीति ल्याउने कुरा समेत सार्वजनिक गरेनन् । जसका कारण अर्थमन्त्रीको रबैया र नियतप्रति लगानीकर्ता थप सशंकित बन्न पुगेका छन्।

यस्तै, यो अवधिमा बजारलाई अझै घटाएर तल झारी राम्रा कम्पनीको सेयर सस्तोमै उठाउने दाउ हेरेर बसेका ठूला र संस्थागत लगानीकर्ताहरुले समेत नकारात्मक भूमिका खेलिरहेका देखिएको छ । ब्रोकर कम्पनीमा लगानीकर्ता सेयर किन्न जाँदा ‘बजार अझै घट्छ किन किन्नुुहुन्छ ? बरु बेलैमा बेचेर धेरै घाटा खानबाट जोगिनु’ भन्ने सन्देश दिएर सोझा लगानीकर्तालाई फसाउने काम भइरहेको देखिएको छ । सर्वत्र चलखेल भई लगानीकर्ताको करोडौं फसाउने काम भइरहँदा समेत नेप्से, धितोपत्र बोर्ड लगायतका निकाय चूपचाप बसिरहेका छन् ।

यस्तै, बैंकसँग सम्बद्ध संघसंस्था समेत तरलता समस्या समाधानको विकल्प खोज्नुको साटो आपसी खिचातानीमा अल्झिएका छन् । यही बेला प्राथमिक बजारमा समेत सेयरको बाढी आएको छ, केही सुरक्षित देख्ने लगानीकर्ता दोश्रो बजार छाडेर त्यसतर्फ लागेका छन् । कतिपयले भने कतिपय बैंकले दिने निश्चित रिटर्नको स्किमहरुमा सेयर बेचेर पैसा हालिरहेका छन् । 

अरु के–के भयो आइतबार ?
यो दिन ‘क’ वर्गका कम्पनीहरुको सेयरमा थामिनसक्नुु बिक्रीको चाप देखियो । यहीकारण सेन्सेटिभ इण्डेक्स ६.४ अंकले घट्न पुुग्यो । समग्र कारोबार पनि निराशाजनक रहँदा फ्लोट इण्डेक्सम २.२७ अंकले घट्यो । 

यो दिन बजारका सबै समूहको सूचकमा पहिरो गयो । यो क्रममा जलविद्युत समूह, बिमा र होटल समूहको सूचकमा ठूलै पहिरो गयो । जलविद्युत समूह ६४.६५ अंक(४.०१ प्रतिशत)ले घट्यो भने बिमा समूह २४३.१८ अंक(३.७६प्रतिशत) तथा होटल समूह ६३.५२ अंक(३.३३ प्रतिशत)ले घटे । 

यो दिन बैकिङ समूह २३.१५, विकास बैंक, बित्त र माइक्रोफाइनान्स समूह क्रमशः २५.६४, ८.६८ र ४५.५२ अंकले ओरालो लागे । उत्पादनमूलक ५२.१७ अंकले घट्यो भने अन्य समूहमा १०.७५ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन कारोबार रकम पनि घटेको छ । बजारमा १६० कम्पनीका ७ लाख ६३ हजार ५ सय ९१ कित्ता सेयर ३२ करोड ५१ लख ९ हजार २ सय ५४ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५२ लाख बढीको कारोबार गर्यो । यस्तै, एनआइसी एशिया बैंकले १ करोड ५१ लख, नवील बैंकले १ करोड २३ लाख, एभरेष्ट बैंकले १ करोड १८ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड १५ लाख, नेपाल बैंकले १ करोड ७ लाख, राष्टिय बिमा कम्पनी लिमीटेडले १ करोड ५ लाख बढीको कारोबार गरे । यस्तै, स्ट्याण्डर्ड चार्टर्डले १ करोड बढीको कारोबार गर्दा सानिमा बैंकले ९५ लाखको हाराहारीमा कारोबार गर्यो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिद्धार्थ इक्वीटी फण्डले धेरै कमायो । यो म्युचुुअल फण्डको इकाई मूल्य ३ प्रतिशतको हाराहारीमा बढ्यो । यो दिन ८ कम्पनीका लगानीकर्ताले मात्र कमाए । बाँकी सबै कम्पनीका लगानीकर्ताले गुमाए ।

यो दिन ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९.३८ प्रतिशतले घट्यो । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले समेत ९.३३ प्रतिशतले सम्पत्ति गुमाए ।