-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । सधैंको झै यो साताको पहिलो कारोबार दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कोशिशमा लाग्यौं । यो साता हामी त्रिपुरेश्वर, सुन्धारा र न्यूरोड आसपासका ब्रोकर हाउसमा पुगेका थियौं । 

सबैभन्दा पहिला हामी त्रिपुरेश्वरमा अवस्थित इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल(ब्रोकर नम्बर ५३)मा पुग्यौं । आज बजार सुरुदेखि नै निरन्तर घटेको थियो । यहाँ लगनीकर्ताको उपस्थिति खासै थिएन । यहाँ भेटिएका एक लगानीकर्ता बजारप्रति खासै सकारात्मक देखिएनन् ।

राष्ट्रबैकको नीति नै डबल स्ट्यान्डर्ड टाइपको रहेको र सेयर बजारप्रति सकारात्मक हुने अन्य आधार वा कारण नरहेको ती लगानीकर्ताले बताए । अल्पकालमा बजार घटेता पनि ती लगानीकर्ता दीर्घकालको लगानीका लागि भने निकै आशावादी देखिए । हुँदा हुँदा प्राविधिक रुपमा पनि बजार मंसिरसम्म २६०० माथि जानसक्ने उनको आँकलन थियो । 

यसबाहेक सो ब्रोकरहाउसमा सन्नाटा थियो । बजारको निरन्तर ओरालो यात्राले त्यसलाई अझ बढावा दिएको भान हुन्थ्यो । 

त्यसपछि हामी सुन्धारास्थित सुन्धारा सेक्युरिटिज(ब्रोकर नम्बर ५२)मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उत्साहजन उपस्थिति थिएन । ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ता आफू पनि अरुजस्तै पहिले नै सेयर किनेर थलिएको गुनासो पोख्दै थिए । ती लगानीकर्ताले बजार बढ्ने आशै-आशमा दैनिकजसो निराशा मात्र छाएको बताए । उनलाई ढाडस दिंदै अर्का लगानीकर्ता भन्दै थिए–‘अहिलेको बजार भनेको २-३ वर्षका लागि सेयर किन्ने राम्रो अवसर पनि हो ।’

 

यहाँ भेटिएकाहरुले अहिले बजार घट्नुको मुख्य कारण लगानीकर्ताको कमजोर मनोबल नै रहेको बताए । 

अर्का एक लगानीकर्ताले देशमा हालै सार्वजनिक भएका सुनकाण्ड, ललिता निवास काण्ड लगायतका विषयले समेत लगानीकर्ताको मनोबल कमजोर बनाएको दाबी गरे । दिउँसो १ बजेसम्ममा पनि बजारले सुधारको बाटो समाउन सकेको थिएन । यो ब्रोकर हाउस पनि सुनसान नै थियो । 

त्यहाँको केही समयको बसाईपछि हामी इन्द्रचोकस्थित एबीसी सेक्युरिटिज(ब्रोकर नम्बर १७)मा पुग्यौं । यहाँ भने लगानीकर्ताको तुलनात्मक हिसाबले उपस्थिति राम्रै थियो । यहाँ भेटिएका एक लगानीकर्ताले सेयर बजारले खराब लत बसालेको बताए । उनीसँगै बसेका अर्का लगानीकर्ताले ‘यो बजार भनेको उद्योगी र अर्बपतिहरुका लागि मात्र रहेको दाबी गरे । ‘जसले अर्ब–अर्ब लगानी गर्नसक्यो त्यसैलाई रहेछ ।’ उनले थप्दै गए–‘यो बजारमा धैर्यता नभएका मानिसहरु छिर्नै नहुने रहेछ ।’

अर्का एक लगानीकर्ताले बैंकहरुसँग कर्जायोग्य रकम भए पनि बजारको निरन्तर घटाईका कारण सेयर धितो कर्जा सहज बन्न नसकेको गुनासो गरे । कतिपय बैंक तथा वित्तीय संस्थामा सेयर कर्जा माग्न जाँदा राष्ट्रबैंकले कडाईं गरेको छ भन्दै फर्काइएको उनको गुनासो छ । अहिले बैंकहरुले घर कर्जा, हायर पर्चेज कर्जालाई प्राथमिकतामा राखेका छन् । तर, सेयर कर्जा पनि प्राथमिकतामा छैन । यस्ता कुराले पनि लगानीकर्ताको मनोबल कमजोर बनाइरहेको छ ।' ती लगानीकर्ताले थपे । 

हामी पुगेको सीमित ब्रोकरमा उल्लासको वातावरण थिएन । आ-आफ्नै बुझाई र विश्लेषण गर्दै बसेका लगानीकर्ता पनि निराश धेरै, आशावादी थोरै देखिन्थे । चुनौतिको चाङ रहेको सेयर बजार कतिपयका लागि अवसरको ठाउँ पनि रहेको कतिपयको बुझाई देखियो । तर, लगानीकर्ताहरुबीच आफ्नै पैसा लङ टर्मका लागि लगानी गर्दा चाहिँ नेपालको सेयरबजारबाट घाटा नहुने तर्क निकै बलियो देखियो । हामीलाई लाग्यो–‘सायद अब हाम्रा देशका लगानीकर्ताले पनि कुरा बुझ्न थालेका हुन् कि ? यस्तै सोंच विकास हुँदै गए नेपालको सेयर बजार र लगानीकर्ता परिपक्व हुन धेरै वर्ष कुर्नु नपर्ने हुनसक्छ ।’