-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । कुनै समयमा २२ अर्ब रुपैयाँको कारोबारलाई सहज रुपमा राफसाफ गरेका ब्रोकरहरुलाई अहिले १ अर्ब रुपैयाँकै कारोबारमा  राफसाफ गर्न हम्मे हम्मे परेको छ । 

सीडीएसी स्रोतका अनुसार लगानीकर्ता तथा ब्रोकरहरुले जथाभावि रुपमा सेयर खरिद गर्दा यस्तो समस्या आएको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले राफसाफ कै समस्याको कारण केही समय पहिला मात्र सिल्पा सेक्युरिटिज स्टक ब्रोकर नम्बर २० लाई तीन दिनसम्म कारोबार गर्न प्रतिबन्ध गरेको थियो ।

यस्तो समस्या पुनः दोहोरिन थालेपछि केही ब्रोकरहरुलाई बैंकले समेत ताकेता गरेको स्रोतले बताएको छ । सीडीएसी स्रोतका अनुसार अब ९३ वटा ब्रोकरलाई नै ताकेता गरेर सम्भब हुँदैन । एउटा विधि र व्यवस्था  बनाउनै पर्छ । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका महासचिव फडिन्द्र ढकालले पनि राफसाफ ग्यारेन्टि फण्ड कार्यान्वयनमा नआउँदा अहिले केही ब्रोकरहरुलाई समस्या आएको बताए ।

उनले भने, ‘हामीलाई अब यसको टड्कारो आवस्यकता महसुस भएको  छ । त्यसैले हामी एक समिति बनाएर नै राफसाफ ग्यारेन्टि फण्ड बनाउँदै छौं ।’ 

उनका अनुसार यसका लागि नेप्सेले पनि प्रयास गरिरहेको छ । यो समस्या निराकरणका लागि बजार सञ्चालक नेप्से, सीडीएससी र ब्रोकरबीच एक सञ्चालक समिति बनाउने तयारी पनि भएको छ । अहिलेसम्म यस्तो फण्डको प्रयोग भएको छैन ।

नेप्सेले राफसाफ कार्यविधि बनाइरहेको छ । पहिलेको कार्यविधि अनुसार सबै ब्रोकरले नाफाको ०.०५ प्रतिशत जम्मा गरेका थिए । हालसम्म कोषमा करिब ६ करोड रुपैयाँ जम्मा भइसकेको छ ।  तर स्पष्ट कार्यविधि नबन्दा यो फण्ड परिचालन हुन सकेको छैन । 

कोषमा रहेको यो रकम ब्रोकरले लिन चाहेमा ब्याजसहित ७ दिनभित्र बुझाउनु पर्ने नियम कार्यविधिमा रहेको छ । उनका अनुसार कोष दर्ता भएको तर कार्यविधि नहुँदा रकम परिचालन गर्न सकिएको छैन । उनले भने, ‘यसतर्फको काम आशा गरौं, छिट्टै हुन्छ ।’

नेपाल स्टक एक्सेन्जका प्रवक्ता मुराहरि पराजुलीले यहि समस्या समाधान गर्न राफसाफ फण्ड सम्बन्धी  एउटा सञ्चालक समिति बनेको बताए ।

उक्त समितिमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादूर कार्की, सीडीएसीका प्रमुख पुर्ण प्रसाद आचार्य र स्टक ब्रोकर एशोसिएशनका तर्फबाट अध्यक्ष धर्मराज थापा रहेका छन् ।