काठमाण्डौ । तीव्र उतारचढाव व्यहोरेको बजार सोमबार अझ बलियो बनेको छ । यो दिन नेप्से परिसूचक ९.३२ अंकले बढेको छ भने कारोबार रकममा उछाल आई ९० करोड माथि पुगेको छ । 

यो दिन जीवन बिमा, निर्जीवन बिमा समूह र माइक्रोफाइनान्स समूह चम्किए । बैंकिङ समूहले भने कारोबार अवधिभरि तीव्र उतारचढाव व्यहोर्यो । 

दोश्रो बजारमा कारोबार रकम र परिसूचक समानान्तर ढंगले बढ्दै गएपछि बजारमा बुलिस प्रवृति सुरु हुने आशामा ठूला र संस्थागत लगानीकर्ता पनि सेयर उठाउन सक्रिय बन्दा बजार एकाएक बुम भएको छ । 

लगानीकर्ताहरुले बैंकिंग समूहमा आबद्ध वाणिज्य बैंकहरुको सेयर खरीदारीमा विशेष ध्यान दिएका छन् । सर्टटर्म कारोबारीले पनि केही दिनदेखि बढिरहेको यही समूहको सेयर बिक्री गरी प्रफिट बुक गरेका कारण सोमबार समग्रमा यो समूहको सूचक ५ अंकले मात्र बढ्यो । 

यो दिन निर्जीवन बिमा समूह १५३.७ अंकले बढ्यो भने जीवन बिमा समूह १६७.५ र माइक्रोफाइनान्स समूह ३६.५१ अंकले बढ्यो । 

विकास बैंक समूह १.८३ अंकले बढेको यो दिन जलविद्युत समूहमा ०.६९ अंक, बित्त समूह १.२७ अंक र उत्पादनमूलक ०.३१ अंकले बढे । 

होटल समूहमा यो दिन ५.५ अंकको गिरावट देखियो भने अन्य समूह २.५६ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७० कम्पनीका २९ लाख ५१ हजार ४७८ कित्ता सेयर ९० करोड ६९ लाख ३६ हजार ७६३ रुपैयाँमा किनबेच  भयो । 

सबैभन्दा बढी एनआइसी एशिया बैंकको सेयर किनबेच भयो । यो कम्पनीमा किन्ने र बिक्री गर्नेको तीव्र मोलमोलाई चल्दा ७ करोड ६३ लाख बढीको कारोबार गर्यो । 

एनएमबी बैंकले ५ करोड ४२ लाख बढीको कारोबार गरेको यो दिन इन्भेष्टमेन्ट बैंकले ४ करोड ३२ लाख, नेको इन्स्योरेन्सले ४ करोड २१ लाख, एनसीसी बैंकले ३ करोड ९८ लाख, नेपाल बैंकले ३ करोड ७५ लाख, प्रभु बैंकले ३ करोड २९ लाख, माछापुच्छ्रे बैंकले ३ करोड ३ लाख, सनराइज बैंकले २ करोड २९ लाख र प्राइम कमर्सियल बैंकले १ करोड ९६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन समीट माइक्रोफाइनान्स र ग्लोबल समुन्नत स्किमका लगानीकर्ताले धेरै कमाए । समिटको सेयर मूल्य र स्किमको इकाई मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।

यो दिन रादी जलविद्युत कम्पनी र युनिभर्सल पावरका लगानीकर्ताले धेरै गुमाए । दुवै कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत भन्दा बढीको गिरावट आयो ।