काठमाण्डौ । मुद्रा तथा पूँजीबजारको समस्या समाधानका लागि अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलले दिएका सुझाव  नेपाल राष्ट्रबैंकले कार्यान्वयन गरी सेयर धितो कर्जामा लचक नियम ल्याएसँगै बुम भएको बजार पुनः घट्न थालेको छ । 

अर्थमन्त्रीको निर्देशनपछि नेपाल राष्ट्रबैंकको दवाबमा बैंक तथा बित्तीय संस्थाहरुले ब्याजदर घटाउन सहमति कायम गरेपछि पनि बजारमा सकारात्मक प्रभाव देखिएको थियो । त्यसलगत्तै अध्ययन कार्यदलको सुझाव कार्यान्वय गर्दै नेपाल राष्ट्रबैंकले सेयर धितोकर्जालाई थप सहज र सरल बनाएको थियो । नीतिगत व्यवस्थामार्फत नै सेयर बजारका केही समस्या सम्बोधन भएपछि लगानीकर्ताले उत्साहित भएर बजारमा खरिदारी बढाएका थिए ।

तर, नेपाल राष्ट्रबैंकले नीतिगत व्यवस्थामार्फत केही सहज अवस्था बनाइदिए पनि ऋणको ब्याजदर घटाउने बिषयमा भने बैंकहरुले अझै सूरसार गरेका छैनन् । सेयर धितो कर्जाको सीमा बढाइए पनि प्रशस्त मात्रामा सेयर धितो कर्जा दिने पैसा बैंकहरुसँग छैन । यसले समेत बजारलाई पुनः पुरानै गिरावटको लयमा फर्काउन मद्धत गरेको  विश्लेषकहरुले बताएका छन् । 

यो बाहेक बजार सोमबार दोहोरो अंकले घट्नुमा बुक क्लोजलाई समेत कारणको रुपमा हेरिएको छ । यो दिन सेयर बजारमा धेरै कित्ता सेयर रहेको नेपाल टेलिकम र अन्य केही बैंकहरुको बुक क्लोजको दिन हो । यो पटक अधिकांश सूचिकृत कम्पनीले नगद लाभांशमा जोड दिएका छन् । नगद लाभांशमा मूल्य समायोजन नहुने हुँदा एउटै कम्पनीको सेयर एकदिनअघि खरीद गर्नेले घोषित नगद लाभांश पाउने, तर त्यसको भोलिपल्टै सो कम्पनीको सेयर खरीद गर्नेले सो लाभांश नपाउने हुँदा समेत बजारमा बिक्री चाप बढेको केही विश्लेषक बताउँछन् । 

कतिपयले भने बजार पुनः घट्न थालेपछि लगानीकर्ताहरुलाई मार्जिन कल हुन थालेको समेत दाबी गरेका छन् । यस्तै, दोश्रो त्रैमासको तेश्रो साता सुरु भएकोले यो बेला बुझाउनुपर्ने करको दवाबले समेत लगानीकर्तामा बिक्रीतर्फको मोह बढेको केही ब्रोकरहरु बताउँछन् ।

यस्तै, भोलिदेखि अनलाइन कारोबार प्रणाली फूल फेजमा संचालन हुने भनिए पनि लगानीकर्ताहरुलाई दुःख दिने कतिपय शर्तका कारण धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका बताइएको छ । पूर्ण स्वचालित अनलाइन कारोबारको यो संशयपूर्ण अवस्थाले समेत लगानीकर्ताको मनोबल घटाइदिएको लगानीकर्ताका नेताको दाबी छ ।  

यिनै कारणले बजार यो दिन १७.२६ अंकले घटी ११८७.२८ को विन्दूमा सीमित हुन पुग्यो । 

यो दिन जलविद्युत समूहमा ६.९५ अंकको वृद्धि भयो भने बित्त समूह १.३९ र उत्पादनमूलकमा ७.१३ अंकको बढोत्तरी भयो । 

बैंकिंग समूह १४.९४ अंकले घटेको यो दिन होटल समूहमा १९.२७ अंक, विकास बैंकमा १३ अंक, निर्जीवन बिमा समूहमा १६०.२३ अंक, माइक्रोफाइनान्समा २३.५८ अंक, जीवन बिमा समूहमा १५३ अंक र अन्य समूहमा १०.४८ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत घटेर ४० करोडमा सीमित हुन पुगेको छ । 

बजारमा १ सय ६७ कम्पनीका ११ लाख ७९ हजार ४३ कित्ता सेयर ४० करोड ३ लाख १२ हजार ३ सय ८५ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सले २ करोड ८८ लाख बढीको कारोबार गरेको छ । 

नेपाल बैंकले २ करोड ३८ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३१ लाख, छिमेक लघुवित्तले १ करोड ९७ लाख, एनएमबी बैंकले १ करोड ४४ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले १ करोड ७ लाख, नागरिक लगानीकोषले १ करोड ४ लाख, प्राइम लाइफ इन्स्योरेन्सले १ करोड २ लाख बढीको कारोबार गरेका छन् । एनसीसी बैंकले ९८ लाख र मेगा बैंकले ८५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एभरेष्ट फाइनान्स लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो ।

महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ८.२४ प्रतिशतको गिरावट देखियो ।