काठमाण्डौ । चुनावको मुखमा समेत अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा साताको दोश्रो कारोबार दिन सोमबार पनि बजारले गति लिन सकेन । बजार ८.३२ अंकले बढेर १६३७.३० अंकको उचाईमा पुुगे पनि कारोबार रकम घटेर ५७ करोडको झरेको छ । 

नेप्से परिसूूचक(इण्डेक्स)मा भएको सामान्य प्रगति, तर अर्कोतर्फ कारोबारमा आएको निकै डरलाग्दो गिरावटले आगामी दिनमा बजार अझै घट्ने संशय बढेको देखिन्छ । बजारमा परिसूचक १० अंकसम्म घटबढ हुँदा सामान्य मानिन्छ । यसको अर्थ सोमबारको वृद्धि खासै प्रभावशाली होइन, तर ठीक उल्टो कारोबारमा चाहि निकै ठूलो गिरावट आउनुले बजार चुनावी परिणामअघिसम्म बुल होला भन्नेमा कारोबार गरिरहेकाहरु समेत सहमत हुँदै गएका देखिएको छ । 

सोमबार अन्य बाहेकका सबै समूह हराभरा भएका छन् । सबै बढे पनि वृद्धि सामान्य अंकको मात्र छ । वाणिज्य बैंक समूह ७.७१ अंकले बढेको छ भने बिमा, विकास बैंक र बित्त समूह क्रमशः ३८.१७, ११.७ र ५.३९ अंकले बढेका छन् । होटल समूहमा ६१.३२ अंकको उछाल देखिएको छ भने जलविद्युतमा १२ अंकको वृद्धि भएको छ । अन्य समूह चाहि ०.८७ अंकले घटेको छ । 

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.८३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.६७ अंकले वृद्धि भएको छ।

धेरै कारोबार गर्ने कम्पनी
सोमबार १ सय ४२ कम्पनीका ९ लाख २२ हजार २ सय ६१ कित्ता सेयर कुल ५७ करोड २५ लाख १ हजार १ सय ३९ रुपैयाँमा किनबेच भएको छ । नेपाल एसबीआई बैंकले सबैभन्दा बढी ८ करोड ४४ लाख बढीको कारोबार गरेको छ । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ८९ लाख बढीको कारोबार गरेको छ भने सानिमा माई हाइडोले २ करोड ३४ लाख बढीको कारोबार गरेको छ । 

सिभिल बैंकले २ करोड २० लाख, सिद्धार्थ बैंकले १ करोड ९७ लाख, सनराइज बैंकले १ करोड ६६ लाख बढीको कारोबार गरेका छन् । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत कम्पनी र एक स्थान होटल समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार मेरो माइक्रो फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरी भएको छ । किसान माइक्रो फाइनान्सको मूल्यमा साढे ५ प्रतिशतको वृद्धि देखिएको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक र माउण्ट मकालु डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । यी दुुई कम्पनीको मूल्यमा साढे ५ प्रतिशत बढीको गिरावट देखियो ।