काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११०२.३२ को विन्दूमा सीमित बन्न पुगेको छ । 

नेप्से परिसूचक घटेर साढे ३ वर्ष भन्दाअघिको अवस्थामा पुगेको हो । यसअघि गत सोमबार पनि बजार घटेर ११०२.५१ विन्दूमा आइपुगेको थियो । सो दिन भन्दा पनि अझ तल झरेर बजार ३८ महिनाअघिकै न्यून विन्दूमा झरेको हो । 

वि.सं. २०७२ मंसिर २० गते नेप्से परिसूचक ११०२.८४ को विन्दूमा थियो । 

त्यसपछि कुनै पनि दिन नेप्से परिसूचक घटेर ११०२.३२ विन्दूमा आइपुगेको थिएन । 

बजारप्रति लगानीकर्ताको विश्वास टुट्दै गएका कारण निरन्तर गिरावट भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ताको सहजताका लागि अनलाइन कारोबार प्रणाली लञ्च गरे पनि त्यसको अवस्था भद्रगोल छ । अनलाइन प्रणालीप्रति लगानीकर्ताको पटक्कै विश्वास देखिएको छैन । 

अर्कोतर्फ, बैंकहरुले निक्षेपको ब्याज घटाए पनि कर्जाको ब्याज घटाएका छैनन् । यसले कर्जा लिएर सेयरमा लगानी गर्नेहरु समेत उचित समयको पर्खाईमा छन् । 

यही बेला किन्न चाहनेहरु बजारलाई अझै घटाएर किन्ने दाउ हेरिरहेका छन्।

यिनै कारणले नेप्से परिसूचक पुनः ओरालो लाग्न थालेको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार हुन सकेको छैन । 

यो दिन सेन्सेटिभ इण्डेक्स २.४२ अंकले घटेको छ भने फ्लट इण्डेक्समा ०.८५ अंकको गिरावट देखिएको छ । 

उत्पादनमूलक समूहमा ३३.२ अंकको बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । बैंकिङ समूह ९.०१ अंकले घटेको यो दिन होटल समूह १९.१३ अंक, विकास बैंक ५.२६ अंक, जलविद्युत समूह ९.३२ अंक, निर्जीवन बिमा समूह ६९.२ अंक, जीवन बिमा समूह ६१ अंक, माइक्रोफाइनान्स समूह २०.७२ अंक, , अन्य समूह १०.९७ अंक र बित्त समूह ०.६७ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका ६ लाख ९८ हजार ५४२ कित्ता सेयर २० करोड ९९ लाख ९७ हजार ५६९ रुपैयाँमा कारोबार भएको छ । 

सबैभन्दा बढी एनआइसी एशिया बैंकले १ करोड ३७ लाख बढीको कारोबार गरेको छ । नवील बैंकले १ करोड २३ लाख बढीको कारोबार गरेको यो दिन शिखर इन्स्योरेन्सले १ करोड ३ लाख, चौतारी लघुवित्तले पनि १ करोड ३ लाख, अपर तामाकोशीले १ करोड २ लाख, नेपाल बैंकले १ करोड, नेपाल लाइफ इन्स्योरेन्सले ८१ लाख बढीको कारोबार गरेका छन् । 

गुड्विल फाइनान्सको ७२ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनएमबी बैंकले ७० लाख बढीको कारोबार गर्यो भने नवील बैंकको ५१ लाख बढीको संस्थापक सेयरको समेत किनबेच भयो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले धेरै कमाएका छन् । यो दिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्तामै ७६१ रुपैयाँले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ४ प्रतिशतको हाराहारीमा बढेको छ । 

यो दिन किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ७.५४ प्रतिशतले घट्यो ।