काठमाण्डौ । सेयर बजारको कारोबार सर्ट टर्म कारोबारीबाट प्रभावित भइरहेको छ । लंग टर्म कारोबारीहरु सेयर खरीदका लागि उपयुक्त मौका कुरेर बस्दा सर्ट टर्म कारोबारीको हेराफेरीले अघिल्लो दिन २२ अंकले घटेको बजार दोश्रो दिन सोमबार २.४७ अंकले उक्लियो । 

दैनिक कारोबारी बजारमा हाबी देखिइरहेको बेला लङ टर्म कारोबारी भने उपयुक्त अवसरको पर्खाइमा छन् । तरलताको अवस्थामा सुधार हुने, नयाँ आर्थिक वर्षको सुरुवातसँगै सूचिकृत कम्पनीहरुले वितरण गर्नसक्ने लाभांशको आँकलन गर्न सकिने हुँदा बजारको चमक बढ्ने, ब्रोकर कमिसनमा देखिएको भ्याट विवाद थप प्रष्टिने लगायतको अवस्थाको उनीहरु पर्खाईमा छन् ।  

यो दिन विकास बैंक र बैकिङ(वाणिज्य) बैंक समूह सामान्य अंकले वृद्धि भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो । वाणिज्य बैंक समूह ६.११ अंक र विकास बैंक समूह ६.६८ अंकले बढे । यस्तै, होटल समूह ३७.१ अंकले घट्यो भने जलविद्युत ९.०३, बित्त समूह ४.५८, बिमा समूह ७.२९, उत्पादनमूलक ६.७५ र अन्य समूह ३.७६ अंकले घटे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले वृद्धि भयो भने फ्लोट इण्डेक्समा ०.२६ अंकले वृद्धि देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार बजारमा १४५ कम्पनीको कुल ८ लाख ३८ हजार ३ सय ९८ कित्ता सेयर ४४ करोड ६७ लाख ९५ हजार ५ सय ४६ रुपैयाँमा किनबेच भयो । 

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ३ करोड ५९ लाख बढीको कारोबार भयो । सानिमा बैंकले २ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड १ लाख बढीको कारोबार गर्यो । नबील बैंकको १ करोड ८३ लाख बढीको संस्थापक सेयर किनबेच भयो भने नेपाल टेलिकमले १ करोड ७९ लाख बढीको कारोबार भयो । एनएमबी बैंकले १ करोड ७३ लाख बढीको संस्थापक सेयरको कारोबार गरेको बजारमा हिमालयन जनरल इन्स्योरेन्सले १ करोड ६१ लाख बढीको कारोबार गर्यो । सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, २ स्थान अन्य कम्पनी र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सबैभन्दा धेरै फरवार्ड माइक्रो फाइनान्सले कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । आइतबार सबैभन्दा धेरै कमाएको पोखरा फाइनान्सले सोमबार सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.६८ प्रतिशतले घट्यो । यस्तै, कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ५ प्रतिशत भन्दा बढीले घट्यो ।