काठमाण्डौ । सेयर बजारमा देखिएको बियरिस ट्रेण्डका कारण लगानीकर्ताहरुले २ महिनाको छोटो अवधिमै करिब ३ खर्ब सम्पत्ति गुमाएका छन् । 

लगानीयोग्य पूँजीको अभाव, ब्याजदरमा भएको अचाक्ली वृद्धि, करको अन्यौल तथा त्रास, नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाको बजारको बिषयमा नकारात्मक टिप्पणी लगायतका कारणले पछिल्लो २ महिनाको अवधिमा लगानीकर्ताहरुले २ खर्ब ७३ अर्ब सम्पत्ति गुमाएका हुन् । 

लगानीकर्ताहरुले यति धेरै गुमाइसक्दा पनि उनीहरुलाई हतोत्साही तथा निराश बनाउने कारक मानिएका बिषयमा सरकार वा सम्बन्धित निकायले अझै पनि स्पष्ट नीति ल्याउन तथा धारणा सार्वजनिक गर्न सकेको छैन । तरलताको अवस्था केही सहज भई ब्याजदर नियन्त्रणतर्फ उन्मुख भएको पनि निरन्तर घटेको बजारका कारण लगानीकर्तामा बैंकहरुको मार्जिन कलको आतंक छाएको छ । 

हकप्रद तथा बोनस सेयरको आधार मूल्यमै लाभकर लगाउने निर्णय स्थगन गरिए पनि त्यसलाई टुंगो नपुर्याउँदा कर सम्बन्धी अन्यौल समेत ज्यूँका त्यूँ नै छ । यसले बजारलाई थप घट्न मद्धत पुर्याइरहेको छ । अर्कोतर्फ, प्राथमिक बजारमा निकै धेरै कम्पनीको आइपीओ निश्कासन भइरहेका छन् भने एफपीओमा समेत लगानीकर्ताको आकर्षक नै देखिएको छ । लगानीकर्ता दोश्रो बजार छाडेर प्राथमिक बजारतर्फ केन्द्रीत हुँदा समेत नेप्से घट्ने क्रम नरोकिएको देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैसाख ९ गते १६ खर्ब ८६ अर्ब ७९ करोड रहेको बजार पूँजीकरण घटेर यो साता १४ खर्बमा झरिसकेको छ । यसको सोझो अर्थ लगानीकर्ताले यो अवधिमा करिब ३ खर्ब सम्पत्ति(२ खर्ब ७४ अर्बको हाराहारीमा) गुमाइसकेका छन् । 

यो अवधिमा नेप्से परिसूचक पनि २४० अंक भन्दा बढीले घटिसकेको छ । २ महिनाअघि दैनिक ७० करोड भन्दा माथि कारोबार भइरहेको बजार अहिले सुस्ताएर अत्यासलाग्दो अवस्थामा पुगेको छ । पछिल्ला केही दिनदेखि सेयर बजारमा २० करोडको हाराहारीमा मात्रै कारोबार भइरहेको छ । 

यस्तो अवस्थामा लगानीकर्ताको मनोबल उकास्ने केही न केही घटना हुन आवश्यक छ । सरकारले करको अन्यौल चाँडो भन्दा चाँडो अन्त गर्नुपर्छ भने मार्जिन कलको नाममा लगानीकर्तालाई दुःख दिने प्रवृति समेत बन्द गरिनुपर्छ । चौपट बनेर घटेको बजारका लागि बजारमैत्री मौद्रिक नीति सञ्जिवनी बुटी साबित हुनसक्छ ।