काठमाण्डौ । दोश्रो बजारमा सर्टटर्म कारोबारी हाबी हुँदा बुधबार नेप्से परिसूचक घटेको छ । सर्टटर्म कारोबारी खरीद छाडेर बिक्रीमा लागेका कारण घटेको बजारमा न्यून कारोबार भएको छ ।

‘पछिल्लो समय बजार सर्टटर्म कारोबारीको कब्जामा गएको विश्लेषक बताउँछन् । सर्टटर्म कारोबारीले १० १५ रुपैयाँ नाफा आउनेबित्तिकै सेयर बिक्री गरिदिन्छन् ।’ एक विश्लेषकले भने–‘सोमबार र मंगलबार बढेको बजारमा नाफा बुक गरिहाल्ने त्यस्ता कारोबारीको हतारोले बुधबार बजार तल झरेको हो ।’ 

सर्टटर्म कारोबारीको चलखेलले प्रभावित हुँदै आएको दोश्रो बजारमा लगानीका अन्य विकल्पहरुबाट समेत प्रताडित छ । प्राथमिक बजारमा आइपीओ र एफपीओको बाढी आएपछि लगानीकर्ता त्यतातर्फ मोडिएका छन् । हकप्रद नबिकेर चौपट भएको अवस्थामा अक्सन मार्केटमा समेत लगानीकर्ताका लागि अर्को स्वर्णिम अवसर छ । यसले समेत दोश्रो बजारको लगानी संकुचित गराउने काम गरिरहेको कतिपयको भनाई छ । 

समग्रमा हिजोआज बजार यिनै कारणले घटेको हो । तर, बुधबार बजार घट्नुको मुख्य कारण भने सर्टटर्म कारोबारी नै हुन् ।

यो दिन नेप्से परिसूचक ४.९२ अंकले घटेको छ भने जलविद्युत र उत्पादनमूलक बाहेकका सबै समूहको उपसूचक घटेका छन् । जलविद्युत समूहको उपसूचक ३.८८ अंकले बढेको छ भने उत्पादनमूलक समूहको उपसूचकमा समेत २.९३ अंकको बढोत्तरी भएको छ । 

यस्तै, यो दिन बैंकिंग समूह ४.२७ अंकले घटेको छ । होटल समूह २०.८५ अंक, विकास बैंक समूह ४.२८ अंक, बित्त समूह ४.३७ अंक, निर्जीवन बिमा समूह ८०.२२ अंक, जीवन बिमा समूह २८.०७ अंक, माइक्रोफाइनान्स समूह ६.७७ र अन्य समूह ०.०७ अंकले घटेका छन् । 

'क' वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३७ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६८ कम्पनीका ६ लाख २९ हजार ७ सय १७ कित्ता सेयर १६ करोड ६१ लाख ६७ हजार ४ सय ३० रुपैयाँमा किनबेच भएको छ । 

यो दिन एनसीसी बैंकले सबैभन्दा बढी १ करोड ९ लाख बढीको सेयर कारोबार गर्यो । बाँकी कुनै पनि कम्पनीको कारोबार ७० लाख माथि पुगेन । नवील बैंकको ६६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सोही बैंकको ६५ लाख बढीको साधारण सेयरको समेत कारोबार भयो । 

सानिमा बैंकले ६२ लाख बढीको कारोबार गरेको यो दिन प्रभू इन्स्योरेन्सले ६२ लाख, नयाँ नेपाल लघुवित्त विकास बैंकले ४३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४१ लाख, चिलिमे हाइडोले ४१ लाख, सिटिजन्स बैंकले ३८ लाख र नेपाल टेलिकमले ३७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । नेपाल सेवा लघुवित्त र रैराङ हाइड्रोका लगानीकर्ताले ५ प्रतिशतको हाराहारीमा कमाए । 

यो दिन एनआइबिएल प्रगति फण्डको इकाई मूल्यमा सबैभन्दा ठूलो गिरावट आयो । यो स्किमको इकाई मूल्य ६ प्रतिशतको हाराहारीले घट्यो ।